पुनर्वासमा एमालेको बलियो किल्ला ढल्यो? रामबस्तीमा सामूहिक पार्टी परिवर्तन, ७० बढी नेता–कार्यकर्ता नेकपामा प्रवेश

पुनर्वास :— कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ३ स्थित रामबस्तीमा नेकपा (एमाले) को प्रभाव कमजोर बन्दै गएको संकेत देखिएको छ। लामो समयदेखि एमालेको बलियो आधार क्षेत्र मानिँदै आएको यस बस्तीमा पछिल्लो समय उल्लेख्य सङ्ख्यामा नेता–कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।

पूर्व सांसद तथा कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका तारा लामा तामाङको प्रभाव क्षेत्रका रूपमा चिनिने रामबस्तीमा एमालेप्रति असन्तुष्टि बढ्दै गएको स्थानीयवासीहरूको भनाइ छ। यस क्षेत्रलाई पुनर्वास नगरपालिकामा एमालेको ‘बलियो गढ’ का रूपमा लिइँदै आएको थियो।

तर पछिल्लो समय राजनीतिक समीकरणमा परिवर्तन देखिएको छ। विगतमा निर्विवाद रूपमा एमाले समर्थक मानिने मतदाताहरू अहिले पार्टी परिवर्तनतर्फ अग्रसर भएका छन्। स्थानीयका अनुसार क्षेत्रीय विकास र समृद्धिका लागि वैकल्पिक राजनीतिक शक्ति रोज्नु आवश्यक भएको निष्कर्षसहित मत परिवर्तन भइरहेको छ।

आज मात्रै एमाले परित्याग गरी अध्यक्ष केशव तामाङ र सचिव कान्छा लामा तामाङको नेतृत्वमा ७० भन्दा बढी महिला तथा पुरुष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई पूर्व खानेपानी मन्त्री तथा कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट नेपाल कम्युनिस्ट पार्टीकी उम्मेदवार बिना मगरले स्वागत गर्दै पार्टी सुदृढीकरणमा सक्रिय हुन आग्रह गर्नुभयो।

कार्यक्रममा बोल्दै केही स्थानीयले नेता तारा लामा तामाङको समुदायप्रतिको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले चुनावपछि समुदायसँगको व्यवहार निरंकुश शैलीको रहेको र चुनाव नजिकिँदा मात्र मतदातालाई महत्व दिने प्रवृत्ति देखिएको आरोप लगाए। साथै, क्षेत्रीय विकासका लागि नेतृत्व र पार्टी दुवैमा परिवर्तन आवश्यक रहेको धारणा राखे।

यस घटनाक्रमसँगै रामबस्तीमा एमालेको प्रभाव क्रमशः घट्दै गएको राजनीतिक विश्लेषकहरूको आकलन छ। आगामी निर्वाचनको सन्दर्भमा यस क्षेत्रको राजनीतिक समीकरण थप रोचक बन्ने देखिएको छ।

ताजा समाचार

spot_img