दल उम्मेदवारले चुनावी एजेण्डा ल्याएनन् कञ्चनपुर क्षेत्र १ मतदाताले ल्याए, बेलडाँडी–बेलौरी सिँचाई सडक कालोपत्रे

कञ्चनपुर : २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनको मिति नजिकिदै जाँदा अहिलेसम्म पनि राजनैतिक दल, तथा तिनका उम्मेदवारले चुनावी एजेण्डा ल्याएका छैनन् । ल्याएपनि चुनावी एजेण्डा सार्वजनिक रुपमा घोषणा गरेका छैनन् । कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा थुप्रै समस्या भएपनि अहिलेसम्म पुराना दल, तिनका उम्मेदबारले उक्त विषयमा समाधान गर्ने मौखिक आश्वासन मात्रै दिईरहेका छन । तर, जिल्लाको दक्षिणी भेग क्षेत्र १का मतदाताहरुले अझैपनि भौतिक पूर्वाधार, विकास निर्माण, वाढी नियन्त्रण, सीमा समस्या समाधान, सीमा क्षेत्रमा बस्ने जनतालाई बैंकले लालपुर्जा हुँदा पनि ऋण नदिने समस्या, भन्सार, कृषि, शिक्षा, स्वास्थ्य सहितका विवित समस्या बारे विगतदेखि नै माग गर्दै आएका छन । तर, कैलाली कञ्चनपुर जोड्ने हुलाकी राजमार्गको विकल्पमा बेलडाँडी–बेलौरी जोड्ने महाकाली सिँचाई नहरकै सडक स्तरोन्नती(कालोपत्रे)का लागि मतदाताहरुले चुनावी एजेण्डा बनाईरहेका छन ।

बेलडाँडी बेलौरीको दक्षिणी भूगोल भएर हुलाकी सडक भएपनि बेलौरी ८पचुईमा भारतीय पक्षले ७ बर्षदेखि निर्माण कार्य अवरोध गरेको विषयलाई लिएर अहिलेसम्म समाधान हुन नसकेको अवस्थामा बेलडाँडी–बेलौरी जोड्ने उत्तरी महाकाली सिँचाईको नहर कालोपत्रेको माग गरिरहेका छन । किसानलाई सिँचाईसंगै यातायातका लागि समेत उक्त सडक वैकल्पिक सडकको रुपमा प्रयोग गर्न आग्रह गरिरेका छन । बेलडाँडी गाँउपालिका २कालिकिचदेखि झर्नासागर–कुण्डा हात्तीभोजा हुँदै बेलौरी पालिका मुकाम जोड्ने उक्त सडक कालोपत्रेको माग अघि सारिरहेका हुन । झण्डै २०÷२२किलोमिटर नहरलाई सडक कायम गराएर स्थानीयलाई यातायातको सुविधा दिलाउने उम्मेदवारलाई मत दिने घोषणा गरिहरेका छन । क्षेत्र १का स्थानीय युवा दिपेन्द्र सिह धामीले बेलौरी बेलडाँडी जोड्ने महाकाली सिँचाई नहरको सडक यातायातकै रुपमा विकसित गराउनुपर्ने बताए । उनले अहिले कुण्डा खोलामा पुल निर्माण भईसकेको र हात्तीबोझा खोलामा पनि पुल निर्माण भएको अवस्थामा सडक स्तरोन्नती गर्न समेत सहज हुने बताए । ‘यो सिँचाईको सडक एक हिसाबले आवतजावतका लागि चलनचल्तीकै छ, ‘उनले भने, ‘यसलाई अब थप स्तरिय बनाउनुपर्छ ।’

दुवै पालिकाको उत्तरी भेगका जनता प्रत्यक्षदेखि अन्य यात्रु समेत यसबाट लाभात्वित हुनेछन । सिँचाई नहर सडक छेउमै रहेका बेलडाँडी २कालिकिचका रोहन लुहारले बेलडाँडी–बेलौरी दुई पालिका प्रत्यक्ष जोड्ने उत्तरी भेगको सडक स्तरोन्ती भएसंगै क्षेत्रका चारै पालिका जनतालाई सहज हुने बताए । ‘महेन्द्रनगरदेखि बेलडाँडी भएर बेलौरी, लालझाडी र पुर्नवास सहित धनगढी गन्तव्यमा जाने सर्वसाधारण यात्रुलाई पनि सुविधा हुन्छ, ‘उनले भने, ‘बेलडाँडीका जनतालाई बेलौरी भएर धनगढी सहितका अन्य गन्तव्यका लागि सुविधा हुन्छ ।’ बर्षातका बेला हुलाकी राजमार्ग कतै भत्किका, वाढीले समस्या गर्दा समेत वैकल्पिक राजमार्गका रुपमा यही सडक उपयुक्त हुने भएकाले अब यो सडक कालोपत्रे गर्ने प्रतिबद्धता जनाउने दल, तिनका उम्मेदवारलाई सघाउँछौँ ।’ बेलडाँडी १ झर्नासागरका प्रवेस रानाले पनि उत्तरी भेगका सर्वसाधारणको दैनिक हिडडुल गर्ने यही सिँचाई सडक कालोपत्रे भए थप यातायातमा सुविधा हुने बताए ।‘हिउँदमा धुलाम्मे, बर्षातमा हिलाम्मे हुने यो सिँचाई सडक छेउछाउका सार्वसाधारण पनि मारमा परेका छन, ‘उनले भने, ‘यो रणनीतिक सडकलाई यथाशिघ्र कालोपत्रे गर्नुपर्छ, कुनै दल, उम्मेदवारले चुनावी एजेण्डा नल्याए हामि मान्दैनौँ, जनताका आधारभूत मागका लागि पहल नगर्ने उम्मेदवार दल हामीलाई किन चाहियो ।’

बेलौरी नगरपालिका ९ कुण्डामा बल्लु चौधरीले कुण्डा खोलामा पुल निर्माण भईसकेको अवस्थामा अब आफुहरुलाई सहजै बेलडाँडी भएर महेन्द्रनगर जिल्ला मुकाम जाने सुविधा भएकाले उक्त सडक कालोपत्रे गर्नुको विकल्प नभएको बताए । ‘यो किसानका लागि पनि खुसीको कुरा हो, ‘उनले भने, ‘पहाडको जस्तो सडक काट्नु छैन, भनेको बेसमा कालोपत्रे मात्रै हो ।’ बेलौरी नगरपालिका ६हात्तीबोजाका भुपेन्द्र बडायतकले बेलौरी बजारदेखि कुण्डा झर्नासागर भएर कालिकिच हुलाकी सडक जोड्ने यो सडक क्षेत्रको विकासमा समेत टेवा पुग्ने बताए । ‘बेलौरीदेखि जिल्ला मुकाम जान कलुवापुर सडक शुक्लाफाँटा निकुञ्जले चान्देवमा कालोपत्रे गर्न दिएको छैन, त्यस्तै कैलालीको धनगढी कञ्चनपुरको महेन्द्रनगर जोड्ने हुलाकी सडक पनि भारतीय पक्षले पहुँचमा कालोपत्रे गर्न दिएको छैन, ‘उनले भने, ‘दुवै ठुला सडकमा अवरोध कहिलेसम्म हुन्छ, थाहै भएन, यो अवरोध बिहिन सडक यथाशिघ्र कालोपत्रे गर्नुपर्छ ।’

उक्त सडक कालोपत्रे भएपछि क्षेत्रका किसानलाई खेतदेखि दुवै चिनी उद्योगसम्म सहजै उखुदेखि कृषि उपज ओसार्न सहज हुनेछ । क्षेत्र १ को उक्त महाकाली सिँचाई नहर क्षेत्रका बेलडाँडी २ कालिकिचदेखि बेलौरी ६ हात्तीबोजासम्मका जनताले उक्त नहर सडकमा कायम गराएर आगामी आर्थिक बर्ष ०८३÷०८४मा निर्माण हुने गरेर स्तरोन्नती(कालोपत्रे) गर्ने एजेण्डा ल्याउने उम्मेदवार दललाई साथ दिने नल्याउनेलाई मत माग्न घरदैलोमा नआउन समेत अनुरोध गरिरहेका छन । उक्त सिँचाई सडक छेउमै रहेका स्थानीयले यथाशिघ्र सडक सुधारको माग गर्दै आएका छन । जनताले आफ्ना उम्मेदवारबाट उस्तै साझा विकास निर्माण सहज यातायाताको अपेक्षा गर्दै आएपछि पुरा नहुँदा मतदाता(जनता) दलप्रति असन्तुष्ट मात्रै होईन विश्वास पनि गर्न छाडेका छन ।

ताजा समाचार

spot_img