सेवानिवृत पूर्वकृषि अधिकृत भट्ट स्कुटर चढेर चुनावी प्रचारमा

कञ्चनपुर : हातमा झण्डा बोकेका कार्यकर्ताको लस्कर छैन, न त गाडीको चर्को हर्न र चुनावी गीतको होहल्ला नै छ । एउटा पुरानो स्कुटरमा बसेर गाउँका धुलाम्मे सडक छिचोल्दै गर्दा भेटिनुहुन्छ– ५९ वर्षीय रामचन्द्र भट्ट । करिब ३९ वर्ष सरकारी सेवामा ‘कृषि प्रसार अधिकृत’ भएर माटो र किसानसँग खेल्नुभएका भट्ट अहिले भने हातमा आफ्नो ‘चुनावी प्रतिवद्धता–पत्र’ बोकेर नयाँ यात्रामा हुनुहुन्छ । कञ्चनपुर क्षेत्र नम्बर २ मा जनमत पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका उहाँको यो सादा प्रचार शैलीले यतिबेला धेरैको ध्यान खिचेको छ ।बेदकोट नगरपालिका–७ निवासी भट्टले झण्डै चार दशक सरकारी सेवामा विताउनु भएको छ ।

समाजशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गर्नुभएका उहाँसँग विभिन्न जिल्लाको प्रशासनिक नेतृत्व सम्हालेको अनुभव छ । सेवा निवृत्त भएपछि आराम गर्ने उमेरमा उहाँ किन राजनीतिमा होमिनुभयो त ? भट्टको सीधा जवाफ छ— “मैले जागिरे जीवनमा किसानका आँसु र सुकुम्बासीको पीडा नजिकबाट देखेँ, निर्वाचनका बेला उहाँहरूलाई केवल ‘भोट बैंक’ बनाइयो, तर अधिकार कहिल्यै दिइएन, त्यही अन्याय विरुद्ध मेरो यो चुनावी लडाइँ हो।” भट्टको चुनावी एजेन्डाको केन्द्रविन्दु ‘कृषि र सुशासन’ रहेको छ । कञ्चनपुरको ९० प्रतिशत जनसङख्या कृषिमा आश्रित भए पनि किसानहरू अझै परम्परागत जीवन निर्वाहमुखी खेतीमै सीमित हुनुलाई उहाँ राज्यको कमजोरी ठान्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “म किसानलाई मजदुर होइन, उद्यमी बनाउन चाहन्छु, ३९ वर्षको मेरो प्राविधिक अनुभवले भन्छ— कृषिलाई उद्योगसँग नजोडेसम्म देशको अर्थतन्त्र बलियो हुँदैन ।” उहाँको प्रतिवद्धता–पत्रमा शुक्लाफाँटा आरक्ष पीडितको स्थायी समाधान, सुकुम्बासीलाई लालपुर्जा, र प्राविधिक शिक्षालाई विशेष जोड दिइएको छ । बेदकोट, शुक्लाफाँटा र कृष्णपुरका मतदातासँग प्रत्यक्ष संवाद गर्दै उहाँले आश्वासनको खेतीभन्दा पनि कार्यान्वयन गर्न सकिने योजनाहरू सुनाउने कार्य गर्दै आउनु भएको छ । उहाँले भन्नुभयो, “कृषिको उत्पादन लागत घटाउने, प्राविधिक शिक्षा तथा उत्पादन सामग्रीमा सबैको पहुँच पुरयाउने, किसानलाई प्रत्यक्ष सहुलियतका कार्यक्रममा पहुँच अभिबृद्धि गर्ने, कृषि योग्य जग्गामा भैरहेको अव्यवस्थीत प्लटिङ नियन्त्रण गर्ने र कृषि योग्य जमिन संरक्षण गर्ने पनि मेरो चुनावी एजेण्डा छन ।”

राजनीतिक दलहरूले गर्ने चुनावी तडक–भडक र खर्चिलो प्रचारको विपरीत भट्टको यो ‘चुनावी अभियान’ ले मतदातामा नयाँ सन्देश दिएको छ ।‘विज्ञदेखि उम्मेदवार’ सम्मको भट्टको यो यात्राले कञ्चनपुरमा कस्तो चुनावी परिणाम ल्याउँछ, त्यो भने प्रतीक्षाकै विषय बनेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ मा १९ जना उम्मेदवार चुनावी मैदानमा रहनु भएको छ । जस मध्ये चार जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहेका छन ।

ताजा समाचार

spot_img