नयाँ व्यवस्थापनका साथ धनगढीमा केयरटेकर अस्पताल सञ्चालन

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा निजी क्षेत्रको लगानी रहेको केयरटेकर अस्पताल सञ्चालनमा आएको छ । धनगढी उपमहानरपालिका ३अत्तरिया–मोहन सडक छेउमै रहेको नयाँ व्यवस्थापनका साथ केयरटेकर अस्पताल सञ्चालनमा आएको हो । ३० करोड रुपैयाँ लगानी रहेको अस्पतालले सय शय्यामा उपचार सुविधा दिइरहेको छ।
केयरटेकर अस्पताल प्रालिका अध्यक्ष गोपालबहादुर शाहीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार २४सै घण्टा आकस्मिक तथा विशेषज्ञ सेवाहरू उपलब्ध रहेको बताए ।

सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र धनगढीमा पछिल्लो समय अस्पतालहरूमा लगानी बढ्दो छ। सिटिस्क्यान, भेन्टिलेटर, कार्डियो, क्यान्सर उपचारलगायत सेवाहरू छिट्टै थप्ने तयारी रहेको अध्यक्ष शाहीले बताए। यी सेवाहरू थप्दा अस्पतालको लगानी एक अर्ब पुग्ने उनले बताए। त्यस्तै, नर्सिङ तथा हेल्थ एसिस्टेन्टको पठनपाठन तथा सञ्चालन गर्ने तयारी भइरहेको अस्पताल व्यवस्थापनले जनाएको छ। अध्यक्ष शाहीले केयरटेकरले सहुलियत शुल्कमा उपचार सुविधा दिइरहेको दाबी गरे। ‘धेरै नागरिक आर्थिक अभावले उपचार सुविधाबाट वञ्चित छन्। सरकारी अस्पतालमा भिड बढी छ भने निजीमा उपचार शुल्क महँगो छ,’ शाहीले भने, ‘यही खाडल पुर्ने र सहुलियत दरमा उपचार सेवा दिन अस्पताल सुरु गरेका हौँ।’

अस्पतालमा अन्तर्राष्ट्रिय मापदण्डको आधुनिक शल्यक्रिया कक्ष, प्रसूति, हाडजोर्नी तथा नसा रोग, मुटु रोग, नाक, कान घाँटी, रेडियोलोजी, युरो सर्जरीलगायत सेवाहरू उपलब्ध रहेको अस्पतालले जनाएको छ। आर्थिक लाभभन्दा सेवालाई प्राथमिकता दिइने सञ्चालकको दाबी छ। यसअघिको स्वस्तिक कार्डियो अस्पताल नयाँ व्यवस्थापन र नामसहित सञ्चालनमा आएको हो । २८माघ बुधबारदेखि थप स्तरिय सेवा सहित नागरिकको स्वास्थ्य उपचारका क्षेत्रमा खटिने प्रतिज्ञा गरेका छन ।

ताजा समाचार

spot_img