कञ्चनपुर: कञ्चनपुरको राजनैतिक चुनावी ईतिहासमा ठुला दलहरुले सदैव महिलालाई उपेक्षा गर्दै आयो, महिलाका नाममा आउने टिकट पनि अन्तत खोस्ने संस्कार छ । कञ्चनपुर निर्वाचन क्षेत्र १मा अन्य दलहरुले महिलालाई सकभर अघि सार्दै सारेनन्, तर सारेपनि अन्तत टिकट खोसेका उदाहरण छन । जिल्लामा पञ्चायतकामा उतिबेलाका पञ्चहरुले लबरु राना, पदम ठगुराठी, ईन्द्र बहादुर केसीलाई सांसद हुँदै मन्त्रीसम्म बनाए । तर, ०४६को जनआन्दोलन, जनयुद्धदेखि गणतान्त्रिक युगसम्म आईपुग्दा ठुला दलदेखि अन्य दलहरुले महिलालाई कहिल्यै प्राथमिकतामा राखेनन् । महिलाको उत्थानका लागि भन्ने एमालेले क्षेत्र १मा प्रदेश र प्रतिनिधी सभा सदस्य निर्वाचनमा दुई महिलाका टिकट खोसिदिएको छ । ०७४मा सम्पन्न भएको प्रदेश सभा सदस्य निर्वाचनमा १(ख)बाट शुरुमा एमाले नेतृ मार्यादा विष्टको टिकट आयो, त्यसपछि लगत्तै विष्टको खोसेर कुलबीर चौधरीलाई दियो ।

०८२मा पनि एमाले केन्द्रीय सदस्य कमला बोहराको नाममा टिकट उपमहासचिव लेखराज भट्टले पाटी सचिवालय बैठकबाट पारित भएको भनेर घोषणा गरिदिए, त्यसपछि बोहराको खोसेर तारालामा तामाङ्गले पाए, तर नेकपाले अहिले पनि महिला नेतृ बीना मगरलाई अघि सारेको छ । यस अघि मगर ०७०, ०७४, ०७९तीनै चुनावी मैदानमा होमिएकी थिईन । ०७४मा जितेकी बिना खानेपानीमन्त्री पनि बनिन् र अब दोस्रो पटकको प्रयासमा पनि सांसदको यात्रामा होमिएकी छिन । क्षेत्र १मा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि १५ राजनीतिक दल र ४ स्वतन्त्र गरी जम्मा १९ जना उम्मेदवार मैदानमा छन्। तर यति धेरै उम्मेदवारमध्ये दलबाट महिला उम्मेदवार भने जम्मा दुई जना मात्रै रहेका छन्, जसले यहाँको राजनीति अझै पनि पुरुषकेन्द्रित रहेको स्पष्ट संकेत गर्दछ।मुख्य राजनीतिक दल मानिने नेकपा एमाले र नेपाली कांग्रेसले यसपटक पनि महिला उम्मेदवार अघि सार्न सकेका छैनन्।

महिला सशक्तीकरणका ठूला–ठूला भाषण गर्ने यी दलहरूले व्यवहारमा भने महिलालाई अवसर दिन नसकेको मतदाताहरूको टिप्पणी छ। महिलाको उत्थान गर्नुपर्छ भनने एमालेले सुरुमा २ महिला र १ पुरुषसहित उम्मेदवारको आन्तरिक सिफारिस गरे पनि महिला उम्मेदवार कमला बोहराको टिकट अन्तिम समयमा खोसिएर पुरुष उम्मेदवार तारालामा तामाङलाई दिइयो। यस घटनाले एमालेभित्र महिलाप्रतिको दृष्टिकोण कति सतही छ भन्ने प्रश्न उठाएको छ। नेपाली कांग्रेसको अवस्था झनै निराशाजनक छ। इतिहासमै कञ्चनपुर–१ बाट कांग्रेसले महिला उम्मेदवार दिन नसकेको तथ्यले महिला मतदातामाथि भएको उपेक्षा प्रष्ट देखिन्छ। यी सबैबीच १५ दलमध्ये महिला उम्मेदवार दिने अर्को दल आम जनता पार्टी भए पनि संगठन र प्रभावशून्य अवस्थाका कारण त्यसलाई मतदाताले खासै चासो दिएका छैनन्। यस्तो परिस्थितिमा नेपाली कम्युनिष्ट पार्टीले महिला नेतृत्वप्रति स्पष्ट प्रतिबद्धता जनाउँदै संघर्षबाट खारिएर आएकी नेत्री विना मगरलाई उम्मेदवार बनाएको छ।

यो निर्णयलाई महिला सम्मान र राजनीतिक साहसको उदाहरणका रूपमा हेरिएको छ। विना मगर यसअघि पनि यही क्षेत्रबाट उम्मेदवार बनेकी थिइन्। प्रतिनिधिसभाबाट मन्त्री बनेकी उनले कञ्चनपुरले पहिलोपटक महिला मन्त्री पाउने इतिहास रचेकी थिइन्। मन्त्रीका रूपमा रहँदा उनले यस क्षेत्रको खानेपानी, भौतिक पूर्वाधार र विकास योजनामा उल्लेखनीय बजेट भित्र्याएर ठोस काम गरेको स्थानीयहरू सम्झन्छन्। उनको कार्यकालमा कञ्चनपुरको विकासले नयाँ गति लिएको इतिहास साक्षी छ। राजनीति भनेकै संघर्ष र सेवा हो भन्ने मान्यतालाई जीवनमा उतार्दै विना मगरले कम उमेरमै कठोर संघर्षका पहाड पार गरेकी छन्। पुनर्वास, कञ्चनपुरमा वि.सं. २०४० मंसिर २२ गते मजदुर परिवारमा जन्मेकी उनले सामाजिक विभेद र शोषणलाई नजिकबाट भोगेकी छिन्। १० वर्षे जनयुद्धमा सहभागी हुँदा उनले २७ महिना नारकीय जेल जीवन बिताउनुप¥यो।
२०६० सालमा तत्कालीन शाही नेपाली सेनाद्वारा पक्राउ परेकी उनलाई भैरवनाथ गणमा चरम यातना दिइयो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको दबाबका कारण उनी जीवन्त रहन सफल भइन्।विद्यार्थी आन्दोलन हुँदै पार्टी राजनीतिमा प्रवेश गरेकी विना मगर हाल पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर आफ्नै जन्मभूमि कञ्चनपुरबाट निरन्तर राजनीति गरिरहेकी छन्। देशभरका नागरिकको खानेपानी समस्या समाधानका लागि राष्ट्रिय रुटम्याप बनाउने पहिलो महिला नेत्रीका रूपमा समेत उनी परिचित छन्। जब ठूला दलहरूले महिलालाई पाखा लगाइरहेका छन्, त्यही बेला नेपाली कम्युनिष्ट पार्टीले महिलाको सम्मान गर्दै विना मगरलाई उम्मेदवार बनाएको छ। एमालेमा देखिन लागेको महिला प्रतिनिधित्व अन्तिम समयमा खोसिनु मतदाताका नजरमा महिलामाथिको अपमानका रूपमा लिइएको छ। देशका प्रजातन्त्रदेखि गणतन्त्र युगसम्म आईपुग्दा ०४८देखि ०८२सम्म भएका निर्वाचनमा ठुला दलले महिलालाई टिकट त परैको कुरो हो, दिएको पनि खोसिदिन्छन, जसका कारण क्षेत्रका महिला आफ्नै पाटीभित्र महिलामाथि अन्याय गर्नेमाथि प्रशन गर्दै महिला नेतृ बीनाको पक्षमा खुलेरै देखिएका छन ।






