कैलाली: सुदूरपश्चिम प्रदेशस्तरीय एन्फा यू–१४ फुटबल प्रतियोगिता सुरु भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रमअनुसार सिसनरीमा ज्यान गुमाएका खेलाडीको स्मृतिमा आयोजना गरिएको विद्यालयस्तरीय एन्फा यू–१४ छात्रा/छात्र फुटबल प्रतियोगिता–२०८२ एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो।

सुदूरपश्चिम प्रदेश फुटबल संघका महासचिव काशिराम बोहराका अनुसार, सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली र कञ्चनपुर जिल्लाका छात्रा तथा छात्र च्याम्पियन टिमहरूको सहभागिता रहेको छ।

गोदावरी नगरपालिका–०८, स्याउले खेलमैदान, कैलालीमा आयोजना भएको उद्घाटन खेलअन्तर्गत छात्रातर्फ दुर्गा भवानी माध्यमिक विद्यालय कैलाली र जीवन ज्योति माध्यमिक विद्यालय कञ्चनपुरबीच दिउँसो १ बजे भएको खेल २–२ गोलको बराबरीमा सकिएको थियो। उक्त खेलकी उत्कृष्ट खेलाडी कञ्चनपुरकी बिबिशा बिष्ट घोषित भइन्।
त्यसैगरी, छात्रतर्फ सरस्वती माध्यमिक विद्यालय झरनासागर, कञ्चनपुर र सत्यवती एकेडेमी, कैलालीबीच दिउँसो ३ बजे भएको खेल १–१ गोलको बराबरीमा सम्पन्न भयो। उक्त खेलको म्यान अफ दि म्याच कैलालीका उज्जल महर घोषित भएका भए।
उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठ सभापति रहनुभएको थियो भने प्रमुख अतिथिका गोदावरी नगरपालिका वडा नं. ०७ की वडा अध्यक्ष कलावती साउँदको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन सुदूरपश्चिम प्रदेश फुटबल संघका महासचिव काशिराम बोहराले गर्नुभएको थियो।
प्रतियोगिताको समापन खेल माघ २४ गते सिद्धार्थ युवा क्लबको खेलमैदान, पुनर्वास नगरपालिका–०७, कञ्चनपुरमा हुने छ। समापन दिन छात्रातर्फ दुर्गा भवानी माध्यमिक विद्यालय कैलाली र जीवन ज्योति माध्यमिक विद्यालय कञ्चनपुरबीच दिउँसो १ बजे तथा छात्रतर्फ सत्यवती एकेडेमी कैलाली र सरस्वती माध्यमिक विद्यालय झरनासागरबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुने छ।







