आइतबार देखि राधाकृष्ण मन्दिरमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु


कञ्चनपुरः भीमदत्त नगरपालिका–१८, बरविपलस्थित राधाकृष्ण मन्दिरमा आइतबार देखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ। राधाकृष्ण मन्दिर प्रबन्ध समिति तथा राधेराधे मातृशक्तिको संयुक्त आयोजनामा महायज्ञ माघ १८ गतेदेखि माघ २४ गतेसम्म सञ्चालन हुनेछ।

महायज्ञको उद्घाटन माघ १८ गते आइतबार बिहान ९ बजे पूर्वाङ्ग पूजन तथा कलश यात्रासहित गरिनेछ। कलश यात्राले महेन्द्रनगर बजारको परिक्रमा गर्ने आयोजकले जनाएको छ। कार्यक्रमअनुसार प्रत्येक दिन बिहान ५ बजेदेखि शुभप्रभात पाठ, बिहान ७ बजेदेखि १ बजेसम्म पूजा–अर्चना, बिहान ९ बजेदेखि १२ बजेसम्म मूल पाठ तथा हवन हुनेछ। त्यसैगरी दिउँसो २ बजेदेखि ५ बजेसम्म कथा प्रवचन, आरती, पुष्पाञ्जली तथा प्रसाद वितरण गरिनेछ भने साँझ ६ बजेदेखि ९ बजेसम्म महात्म्य पाठ तथा भजन–कीर्तन कार्यक्रम सञ्चालन हुनेछ। माघ २४ गते महापूर्णाहुति तथा विशेष भजन–कीर्तनसहित महायज्ञ समापन गरिने राधाकृष्ण मन्दिरका सह–कोषाध्यक्ष राजेन्द्र के.सी.ले जानकारी दिए। उनले उद्घाटनको अवसरमा आयोजना हुने कलश यात्रामा सहभागी हुन सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूलाई अनुरोध समेत गरेका छन्।

राधाकृष्ण मन्दिर प्रबन्ध समितिका अध्यक्ष खरेलले हिन्दू धर्मको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले तेस्रो पटक महायज्ञ आयोजना गरिएको बताए। उनका अनुसार अन्तर्राष्ट्रिय कथावाचक आचार्य दीपक भाइ जोशी र आचार्य साजन तिवारीबाट दैनिक कथा प्रवचन, पूजा–आरती, कथा वाचन लगायतका धार्मिक कार्यक्रम सञ्चालन गरिनेछ।


ताजा समाचार

spot_img