कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–४ असैना स्थित राष्ट्रिय माध्यमिक विद्यालयको ६८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीवार विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्र बहादुर साउदको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महरा रहनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि निवर्तमान नगर प्रमुख दिल बहादुर ऐर रहनुभएको थियो भने अतिथिमा वडा नं। ४ का वडा अध्यक्ष कमल ठकुल्ला र वडा नं। ३ का वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरी रहनुभएको थियो । कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक धन सिंह महराले प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै उहाँले विद्यालयको ऐतिहासिक पृष्ठभूमि, शैक्षिक उपलब्धि, भौतिक तथा सांगठनिक अवस्थाबारे जानकारी गराउनुभएको थियो । आर्थिक विवरण प्रस्तुत गर्दै प्रधानाध्यापक महराले चालु आर्थिक वर्षमा विद्यालयको कुल आम्दानी रु ९२ लाख ७० हजार ७ सय ३३, खर्च रु ८५ लाख ३६ हजार ५ सय २९ र बचत रु ७ लाख ३४ हजार २ सय ३ रहेको जानकारी दिनुभयो ।

सोमध्ये आन्तरिक आम्दानी रु ११ लाख ५७ हजार ६ सय रहेको विवरण कार्यक्रममा पेश गरिएको थियो । साथै, प्राविधिक धारतर्फ रु १० लाख ९६ हजार ५ सय ५५ को आय–व्यय विवरण पनि प्रस्तुत गरिएको थियो । प्रतिवेदनमा विद्यालयले सामना गरिरहेका चुनौतीहरूको उल्लेख गर्दै प्रधानाध्यापक महराले कक्षा दोहोर्याउने तथा विद्यालय छाड्ने विद्यार्थीको संख्या अपेक्षाअनुसार घटाउन नसकिएको, शिक्षण–सिकाइलाई प्रभावकारी बनाउन शैक्षिक सामग्रीको अभाव, प्रयोगशाला तथा पुस्तकालयको पर्याप्त व्यवस्था नहुनु, अभिभावकको विद्यालय तथा बालबालिकाप्रति अपेक्षित सक्रियता नदेखिनुजस्ता समस्याहरू औँल्याउनुभयो । साथै, आन्तरिक स्रोतको भरमा विद्यार्थी अनुपातअनुसार शिक्षक व्यवस्थापन गर्नुपर्ने बाध्यता र प्राविधिक धार सञ्चालनका लागि गरिएका पहलहरू सोचेजति अघि बढ्न नसकेको उहाँको भनाइ थियो । सोही अवसरमा नगर प्रमुख महराले विद्यालयको नवनिर्मित अढाई तले भवनको रिबन काटेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै शिक्षण सिकाइको गुणस्तर, प्रविधिमैत्री शिक्षा र विद्यार्थीको समग्र विकासमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । निवर्तमान नगर प्रमुख दिल बहादुर ऐरले सामुदायिक विद्यालयहरू नै सामाजिक रूपान्तरणको आधार भएको उल्लेख गर्दै विद्यालयको दीर्घकालीन विकासका लागि स्थानीय तह, विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । वडा अध्यक्ष कमल ठकुल्लाले वडाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै विद्यालयको आवश्यकताअनुसार संरचना, खेलकुद र अतिरिक्त क्रियाकलापमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले विद्यालयको शैक्षिक वातावरण सुधारका लागि अनुशासन, नियमितता र अभिभावकको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो । कार्यक्रमका अतिथि कृष्णबैजनाथ बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सिद्धराज भट्टले विद्यालय शिक्षाले विद्यार्थीको भविष्य निर्माणमा निर्णायक भूमिका खेल्ने उल्लेख गर्दै प्राविधिक र व्यवहारिक शिक्षालाई जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक मोहनचन्द्र जोशी, नगर क्षेत्रभित्र सञ्चालित विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, प्रधानाध्यापकहरू, सामाजिक व्यक्तित्वहरू तथा नगरपालिकाको खेलकुद समितिका अध्यक्ष चक्रबहादुर साउदलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो । सो अवसरमा विद्यालयको शैक्षिक तथा संस्थागत विकासमा योगदान पुर्याउने व्यक्तित्वहरू, अध्ययन, खेलकुद तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमुख अतिथि तथा अतिथिहरूले सम्मान तथा पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । साथै, विद्यार्थीहरूले तयार पारेका चित्रकला प्रदर्शनीमा राखिएको थियो भने कार्यक्रमका अतिथिहरूका लागि नास्ताका लागि अलग्गै स्टलको व्यवस्था गरिएको थियो ।






