बेलौरीमा बालेनको अभूतपूर्व क्रेज, रास्वपाका नेता–कार्यकर्ता उत्साहित!

कञ्चनपुर: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा क्षेत्र नं. ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) कञ्चनपुर आइपुगेका छन्। मंगलबार धनगढीदेखि पुनर्वासको डोकेबजार हुँदै हुलाकी सडक मार्ग प्रयोग गर्दै उनी कञ्चनपुर प्रवेश गरेका हुन्।

डोकेबजार–पुनर्वास–बेलौरी–झलारी हुँदै महेन्द्रनगर पुग्ने कार्यक्रम तय भएको रास्वपा कञ्चनपुरले जनाएको छ। जिल्लाको पहिलो सदरमुकाम बेलौरीमा बालेनको आगमनसँगै एकाएक उल्लेखनीय जनउत्साह र क्रेज देखिएको छ।

रास्वपाका नेता तथा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य जनक सिंह धामीका अनुसार बालेनले बेलौरी पार्टी कार्यालयमा पुगेर बेलौरी, पुनर्वास, लालझाडी र बेलडाँडीका नेता तथा कार्यकर्तासँग भेटघाट गरेका थिए। सो अवसरमा उम्मेदवार धामीले वरिष्ठ नेता शाहलाई मायाको चिनो प्रदान गरेका थिए। बालेनले बेलौरी पार्टी कार्यालयमा हस्ताक्षर गर्दै घण्टी बजाएर क्षेत्रबाट उम्मेदवारलाई जिताउनुपर्ने सन्देश दिएका छन्।

कार्यक्रमअनुसार बालेन बेलौरीपछि क्षेत्र नं. २ को झलारी र क्षेत्र नं. ३ को महेन्द्रनगर पुग्नेछन्। महेन्द्रनगरमा नेता तथा कार्यकर्तासँग भेटघाट, मदन चोकमा घण्टी बजाउने तथा स्वागत–सम्मान कार्यक्रम आयोजना गरिएको छ।

वि.सं. २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी बनेका बालेन रास्वपाबाट उम्मेदवार बनेपछि पहिलो पटक कञ्चनपुर आएका हुन्। उनको आगमनसँगै पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूले उत्साहपूर्वक स्वागत गरेका छन्।

ताजा समाचार

spot_img