पुनर्वास : कञ्चनपुरको महेन्द्रनगरस्थित सिप विकास तालिम केन्द्र र पुनर्वास नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन भएको **४५ दिने झोला बनाउने सिप विकास तालिम** आज एक औपचारिक समारोहका बीच सम्पन्न भएको छ।

पुनर्वास नगरपालिका वडा नं. ३ का वडाध्यक्ष कृष्णबहादुर तामाङज्यूको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा पुनर्वास नगरपालिकाकी नगर उपप्रमुख भुलिया कुमारी राना ज्यू प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। यसैगरी कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरी ज्यूको उपस्थिति रहेको थियो भने अतिथिहरूमा सीप विकास तालिम केन्द्रका प्रतिनिधि शिवराज भट्ट , महिला बालबालिका शाखा का पार्वती भट्ट लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

तालिम अवधिभर प्रशिक्षक चुलीराम चौधरीले झोला बनाउने सैद्धान्तिक तथा व्यवहारिक सीपमा सहजीकरण गर्नुभएको थियो। उहाँले तालिम अवधिभर सहभागी प्रशिक्षार्थीहरूले झोला डिजाइन, कटिङ, सिलाइ तथा अन्तिम तयारीसम्बन्धी सीपहरू व्यवहारिक रूपमा सिकाएका थिए। साथै सहभागीहरूलाई बजारमा माग हुने विभिन्न प्रकारका झोला बनाउने तरिका, कच्चा पदार्थको छनोट, गुणस्तर व्यवस्थापन तथा स्वरोजगारका सम्भावनाबारे प्रशिक्षण दिनुभएको थियो।

यसैगरी कार्यक्रममा विशिष्ट अतिथि गणेश सिंह ऐरीले तालिमले सहभागीहरूको जीवनस्तर उकास्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै सीपसँगै अनुशासन, निरन्तर अभ्यास र बजार पहिचान आवश्यक रहेको धारणा राख्नुभयो। कार्यक्रममा अतिथि शिवराज भट्टले सिप विकास तालिम केन्द्रले स्थानीय तहसँग सहकार्य गरी व्यावहारिक र रोजगारमुखी तालिमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो।
समापन समारोहमा प्रशिक्षार्थीहरूले तालिमका क्रममा भोगेका चुनौती, सिकाइका अनुभव तथा अवसरबारे आफ्ना धारणा राख्दै जीवन उपयोगी सीप सिक्न पाउँदा खुशी व्यक्त गरे। उनीहरूले यस तालिमबाट प्राप्त सीप प्रयोग गरी घर–गृहस्थी सहज रूपमा सञ्चालन गर्नुका साथै भविष्यमा आम्दानीको स्रोत बनाउने प्रतिबद्धता जनाए।
प्रमुख अतिथिको आसनबाट बोल्दै नगर उपप्रमुख भुलिया कुमारी रानाले सीपमूलक तालिमले स्थानीय नागरिकलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँ ले तालिमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण निकाय, प्रशिक्षक तथा सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सीप विकास कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। उहाँले सिकेको सीपलाई व्यवहारमा उतारी स्वरोजगार तथा उद्यमशीलता विकास गर्न नगरपालिकाले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसैगरी समापन समारोहमा सभापतित्वको आसनबाट बोल्दै वडाध्यक्ष कृष्ण बहादुर तामाङले सीपमूलक तालिमले स्थानीय नागरिकलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस्तो तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतारी आयआर्जनमा जोडिन सहभागीहरूलाई आग्रह गर्नुभयो।
स्थानीय स्तरमा रोजगारी सिर्जना र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको यो तालिमले पुनर्वास नगरपालिकाका नागरिकहरूका लागि नयाँ सम्भावनाको ढोका खोलेको सहभागीहरूको धारणा रहेको थियो कार्यक्रमको अन्त्यमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।






