झलारी :: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित मुक्त कमैया टोलमा आइतबार ‘माघी मिलन कार्यक्रम’ भव्यताका साथ सम्पन्न भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा आयोजित उक्त कार्यक्रममा थारु समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको सन्देश प्रस्तुत गरिएको थियो ।

मुक्त कमैया टोलका भलमन्सा बुद्धिराम चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लाफाँटा नगरपालिका–१० का वडा अध्यक्ष लालबहादुर ऐर प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ऐरले माघी पर्व थारु समुदायको पहिचान, संस्कृति र सामाजिक सद्भावको बलियो आधार भएको बताउनुभयो । उहाँले मुक्त कमैया समुदायको समग्र उत्थानका लागि स्थानीय तहले शिक्षा, स्वास्थ्य, रोजगारी र आवासका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि एवं वडा नं ११ का वडा अध्यक्ष शेरबहादुर साउदले कमैया मुक्ति घोषणा भएको लामो समय भइसक्दा पनि मुक्त कमैया परिवारहरू अझै सीमित जग्गामा बस्न बाध्य हुनु दुःखद भएको बताउनुभयो । उहाँले मुक्त कमैयाहरूको शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच बढाउन राज्यले विशेष प्याकेज र नीति ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो । दक्षिण अफ्रिकामा रङ्गभेद विरुद्ध भएको आन्दोलनको चर्चा गर्दै उहाँले मुक्त कमैया समुदायले अझैसम्म राज्यबाट अपेक्षित न्याय पाउन नसकेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा थारु समुदायको पहिचान झल्काउने विभिन्न मौलिक नृत्य तथा गीतहरू प्रस्तुत गरिएको थियो । सो अवसरमा सहभागी पाहुनाहरूलाई थारु समुदायका परम्परागत परिकारहरू पस्किएर स्वागत गरिएको थियो । कार्यक्रममा नगर कार्यपालिका सदस्य भुमा चन्द र वडा सदस्य रामबहादुर बस्नेत लगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी र बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता रहेको थियो । यस्ता कार्यक्रमले आपसी सद्भाव र संस्कृति संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन् ।






