डिजिटल भविष्यतर्फ सहकार्य: क्युबिटो नेपाल–नेप नोला मर्जर सम्पन्न

कञ्चनपुर : डिजिटल सोलुसन तथा प्रविधि क्षेत्रमा सक्रिय दुई प्रमुख कम्पनीहरू क्युबिटो नेपाल प्रा. ली. र डिजिटल नवप्रवर्तनमा केन्द्रित नेप नोला बीच औपचारिक रूपमा विलय (मर्जर) सम्पन्न भएको छ। माघ ८ गरे बिहीबार सम्पन्न बोर्ड बैठकको निर्णयअनुसार आपसी सहमति तथा शेयरधनी सम्झौता बमोजिम यो मर्जर प्रक्रिया पूरा भएको हो। मर्जरपछि दुवै कम्पनीको सम्पूर्ण व्यवसायिक गतिविधि, परियोजना, सफ्टवेयर प्रणाली, बौद्धिक सम्पत्ति, सद्भावना (गुडविल), डेटा तथा मानव स्रोतलाई क्युबिटो नेपाल प्रा. ली. मा पूर्ण रूपमा समाहित गरिएको छ।

अबदेखि कम्पनीका सबै सेवा र व्यवसायिक कार्यहरू ‘क्युबिटो नेपाल’ कै नामबाट सञ्चालन हुने आधिकारिक जानकारी दिइएको छ। कम्पनीका अध्यक्ष शंकर चन्दले यो निर्णय डिजिटल क्षेत्रको वर्तमान आवश्यकता र भविष्यको चुनौतीलाई मध्यनजर गर्दै लिइएको बताउनुभयो। उहाँले दुई डिजिटल सोलुसन कम्पनी बीचको यो विलय प्रविधि क्षेत्रमा एक बलियो र सक्षम संस्था निर्माण गर्ने रणनीतिक कदम भएको उल्लेख गर्दै यसले सेवाको गुणस्तर र नवप्रवर्तन क्षमतालाई थप विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो। कम्पनीले यस मर्जरसँगै डिजिटल सेवा, सफ्टवेयर विकास र प्रणाली समाधानमा आफ्नो पकड अझ मजबुत बनाउने लक्ष्य राखेको छ। त्यस्तै, प्रमुख कार्यकारी अधिकृत तोयराज अवस्थीले डिजिटल क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बीच यो विलय कोशेढुङ्गा सावित हुने बताउनुभयो।

क्युबिटो नेपाल र नेप नोलाका अनुभव र विशेषज्ञतालाई एकीकृत गर्दै अब अझ प्रभावकारी, विश्वसनीय र परिणाममुखी डिजिटल सेवा प्रदान गरिने उहाँको भनाइ रहेको छ। प्रबन्ध निर्देशक सन्तोष बिष्टले पनि मर्जरपछि कम्पनीको प्राविधिक क्षमता दोब्बर भएको बताउँदै एकीकृत टिमले नयाँ सम्भावनाहरू सिर्जना गर्ने र यो कदम सेवाग्राही एवं साझेदार दुवैका लागि अत्यन्त सकारात्मक रहनेमा जोड दिनुभयो।बैठकबाट स्वीकृत नयाँ संगठनात्मक संरचना लागू भएसँगै कम्पनी अब नयाँ ऊर्जाका साथ अघि बढेको छ। आगामी दिनमा क्युबिटो नेपालले डिजिटल सोलुसन, सफ्टवेयर विकास, वेब तथा मोबाइल प्रणाली, शिक्षा प्रविधि लगायतका क्षेत्रमा अत्याधुनिक र नयाँ प्रविधिमैत्री कार्यक्रमहरू सार्वजनिक गर्ने तयारी गरेको छ। यस मर्जरले नेपालको प्रविधि बजारमा एक सक्षम र प्रतिस्पर्धी डिजिटल हबको रूपमा क्युबिटो नेपाललाई स्थापित गर्ने अपेक्षा गरिएको छ।

ताजा समाचार

spot_img