कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–१० टोटी, बञ्जरीयामा बड्घर भलमन्सा समितिको आयोजना तथा वडा कार्यालयको सहयोगमा आज माघी मिलन कार्यक्रम सम्पन्न भएको छ।समितिका अध्यक्ष यज्ञराज चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडा नं १० का अध्यक्ष लाल बहादुर ऐर रहनु भएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष ऐरले माघी पर्व थारु समुदायको मौलिक पहिचान, संस्कृति र सामाजिक एकताको प्रतीक भएको उल्लेख गर्दै यस्ता पर्वले समुदायबीच आपसी सद्भाव बलियो बनाउने बताउनुभयो।

कार्यक्रमका विशिष्ट अतिथि वडा नं ११ का वडा अध्यक्ष शेर बहादुर साउदले माघी पर्वले सामाजिक एकता, मेलमिलाप र सहकार्यको भावना विकास गर्ने बताउँदै थारु समुदायको भाषा, भेषभूषा र संस्कृतिको संरक्षणमा स्थानीय सरकारको निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै अर्का विशिष्ट अतिथि वडा नं ५ का वडा अध्यक्ष चक्र बहादुर खडकाले थारु समुदायले पुस्तौँदेखि जोगाउँदै आएको संस्कृति संरक्षण गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनु भयो।

आदिवासी जनजाति शुक्लाफाँटा नगर संयोजक हवल्दार चौधरीले पछिल्लो समय परम्परागत गीत–संगीत, नृत्य र सांस्कृतिक अभ्यासहरू संरक्षणको अभावमा हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो। उहाँले बुढापाकाबाट युवापुस्तामा संस्कृति पुस्तान्तरण हुन नसक्दा मौलिक पहिचान संकटमा परेको बताउँदै यस्ता माघी मिलन कार्यक्रममार्फत युवाहरूलाई आफ्नो भाषा, गीत–संगीत र संस्कृतिप्रति आकर्षित गर्न आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यपालिका सदस्य भुमा चन्दले माघी जस्ता पर्वले समाजमा एकता, सहिष्णुता र आपसी समझदारी कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै स्थानीय तहले आदिवासी जनजातिका संस्कृतिमूलक गतिविधिलाई प्राथमिकता दिने बताउनुभयो।
कार्यक्रममा समाजसेवी धर्मा बिष्ट, बाबु चन्द, राजिव अवस्थी लगायत गाउँका भद्रभलादमी, गुरुवा तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। माघी मिलन कार्यक्रममा थारु समुदायका परम्परागत छोक्रा नृत्य, मघौटा नृत्य तथा मौलिक गीत–संगीत प्रस्तुत गरिएको थियो।






