घुसुडी महोत्सव २०८२ विधिवत् सुरु

कञ्चनपुर: महेन्द्रनगरस्थित खुल्ला मञ्चमा घुसुडी महोत्सव २०८२ आजबाट विधिवत् रूपमा सुरु भएको छ। पुस २९ गतेदेखि सुरु भएको यो महोत्सव माघ ११ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुका साथै सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रलाई टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको महोत्सवको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले उद्घाटन गर्नुभएको हो।

भीमदत्त नगर उद्योग वाणिज्य संघ र नेपाल उद्योग परिसंघ, सुदूरपश्चिमको संयुक्त आयोजनामा सुदूरपश्चिम कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव (घुसुडी महोत्सव) २०८२ सञ्चालनमा आएको हो। १३ दिनसम्म चल्ने महोत्सवमा देशभरका ख्यातिप्राप्त कलाकारहरूका साथै स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ। साथै विभिन्न स्थानबाट आएका व्यापारीहरूले स्थानीय उत्पादनदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका वस्तुहरूको व्यापार–व्यवसाय गर्नेछन्। थारु गाउँ, बाल उद्यानलगायतका आकर्षणबाट दर्शकले भरपूर मनोरञ्जन लिने आयोजक टिमले अपेक्षा गरेको छ।

महोत्सव अवलोकनका लागि सर्वसाधारणबाट रु. १००, विद्यार्थीहरूबाट रु. ५० प्रवेश शुल्क निर्धारण गरिएको छ भने ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र शारीरिक अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क व्यवस्था गरिएको महोत्सव आयोजक टिमका सदस्य करन पालले जानकारी दिनुभयो।

भीमदत्त नगर उद्योग वाणिज्य संघका अध्यक्ष सौभाग्य विक्रम थापाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी मदन कोइराला उपस्थित हुनुहुन्थ्यो। कार्यक्रम सञ्चालन राजेन्द्र प्रसाद जोशीले गर्नुभएको थियो। कार्यक्रममा कञ्चनपुर जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा व्यवसायीहरूको उपस्थिति रहेको थियो।

ताजा समाचार

spot_img