महेन्द्रनगर- कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा रहेको बेल्डाँडी गाउँपालिकाले स्वीकृत दरबन्दी बाहेकका कर्मचारीको नवीकरण नगर्ने जनाएको छ।

मंगलबार एक सूचना जारी गर्दै बेल्डाँडी गाउँपालिकाले स्वीकृत दरबन्दी बाहेक अस्थायी, करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरूको करार तथा ज्यालादारी सम्झौता नवीकरण नगर्ने निर्णय गरिएको हो।

उक्त निर्णय २०८२ माघ १ गतेदेखि लागू हुने गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै जानकारी गराएको छ। प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण वि.क.को हस्ताक्षर सहितको सूचना पुस २९ गते सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ।

उक्त सूचनामा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८२/०६/०५ गतेको बैठकबाट भएको निर्णय तथा त्यसको कार्यान्वयनका लागि अर्थ मन्त्रालय सिंहदरबारको पत्र संख्या २०८२/०८३ (मिति २०८२/०६/०७, च.नं. ११८) र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र संख्या २०८२/०८३ (मिति २०८२/०६/०८, च.नं. ११३) अनुसार प्रदेश सरकार र स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेक अस्थायी, करार र ज्यालादारी कर्मचारी नियुक्त गर्न नपाइने व्यवस्था गरिएको छ।
सोही निर्णयको कार्यान्वयनस्वरूप गाउँकार्यपालिकाको निर्णयअनुसार बेल्डाँडी गाउँपालिका अन्तर्गत स्वीकृत दरबन्दी बाहेक अस्थायी, करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरूको करार वा ज्यालादारी सम्झौता नवीकरण नगरिने स्पष्ट पारिएको छ।






