धन र मन भएका मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

महेन्द्रनगर : भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले आफ्ना स्वर्गीय आमा–बुवाको स्मृतिमा भीमदत्त नगरपालिका–१६ स्थित प्रभात विद्या निकेतनलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ । केही साता अघि एक कार्यक्रममा प्रभात विद्या निकेतन (सार्वजनिक शैक्षिक गुठी) माध्यमिक विद्यालयको सभा हल व्यवस्थापनका लागि व्यक्तिगत रूपमा आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको थियो । सो घोषणा अनुसार नगर प्रमुख बोगटीले आइतवार विद्यालयको वार्षिकोत्सवको अवसर पारेर ५१ हजार रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।

काम विशेषले जिल्ला बाहिर रहनुभएकाले नगर प्रमुख बोगटीले  उपप्रमुख नीलम लेखक जोशी मार्फत विद्यालय प्रशासनलाई चेक हस्तान्तरण गर्नुभएको थियो । नगरप्रमुख बोगटीको सन्देश सुनाउदै उपप्रमुख जोशीले धन हुनेसित मन नहुने र मन हुने सित धन नहुने बताउदै मेयर बोगटीसङ्ग भने धन र मन दुबै भएको भन्दै उहाँको प्रशंसा गर्नुभयो । जेनजी आन्दोलनका क्रममा नगरप्रमुख बोगटीको घरमा आगजनी गरिएपछि घर मर्मतका लागि जग्गा बिक्री गर्नुपरेको थियो । बिक्री गरिएको जग्गाबाट प्राप्त रकम बाट उहाँले निरन्तर सामाजिक कार्य, शिक्षा र मानवीय सेवामा सहयोग गर्दै आउनुभएको छ । उहाँले नगर प्रमुख पद सम्हालेपछि मात्रै हालसम्म आफ्नो पैतृक सम्पत्ति अन्तर्गत पर्ने ७ कट्टा भन्दा बढि जग्गा बिक्री गरिसक्नुभएको छ ।

उहाँले यसअघि समेत कबड्डी खेलाडीहरूको प्रोत्साहनका लागि २५ हजार रुपैयाँ, साथै पिछडिएका महिलाहरूको सशक्तीकरणका लागि २५ हजार रुपैयाँ व्यक्तिगत रूपमा सहयोग गर्नुभएको थियो । आफ्नो व्यक्तिगत पीडा लुकाएर व्यक्तिगत सम्पत्तिबाट प्राप्त रकम समाजका विभिन्न क्षेत्रमा लगानी गर्दै आउनु उहाँको सार्वजनिक जीवनको विशेष पक्षका रूपमा लिइएको छ । विद्यालय परिवारले नगर प्रमुख बोगटीको यो योगदानप्रति आभार व्यक्त गर्दै यसले शैक्षिक वातावरण सुधार, विद्यार्थीहरूको सिकाइ सहजता तथा विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।

ताजा समाचार

spot_img