झलारी : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्वाचन क्षेत्र नं. २ क्षेत्रीय कार्यसमिति कञ्चनपुरको आयोजनामा आज कृष्णपुर नगरपालिकामा ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाइएको छ । क्षेत्रीय सभापति लक्ष्मी चन्दको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राप्रपाका केन्द्रीय सह–प्रवक्ता पूर्ण बहादुर चन्द प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चन्दले आधुनिक नेपालको एकीकरणमा श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको अतुलनीय योगदान रहेको चर्चा गर्दै उहाँकै दूरदर्शिताका कारण आज नेपाली भएर बाँच्न पाइएको बताउनुभयो ।त्यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमा देवी विष्टले पृथ्वीनारायण शाहका दिव्य उपदेशहरू आजको सन्दर्भमा झनै सान्दर्भिक रहेको उल्लेख गर्दै राष्ट्रियता र एकताका लागि उहाँले देखाएको बाटोमा हिँड्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जीवनी र उहाँले नेपाल एकीकरणका क्रममा पु¥याएको योगदानका विषयमा चर्चा गरिएको थियो। सो अवसरमा सुदूरपश्चिमको मौलिक संस्कृति झल्कने छलिया नृत्य, राना थारु समुदायको होली नाचका साथै कञ्चनजंगा बोर्डिङ स्कुलका बालबालिकाहरूले राष्ट्रभक्तिपूर्ण कविता वाचन र नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा पार्टीका प्रदेश सदस्यद्वय जीत सिंह भण्डारी र तामाङ सिंह गुरुङ, आर्थिक संयोजक एवं पूर्व केन्द्रीय सदस्य विष्णु सिंह, पूर्व क्षेत्रीय अध्यक्ष बम बहादुर बम, पार्टीका तीनवटै नगरका अध्यक्षहरूका साथै नेत्रीहरू उषा थापा, तारा कार्की, सावित्री सिंह, र गीता चन्द लगायत ठुलो संख्यामा स्थानीयको सहभागिता रहेको थियो।






