कञ्चनपुर: निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) कञ्चनपुरले आफ्नो ३५औँ प्याब्सन दिवस सामाजिक सेवामूलक कार्यक्रमका साथ मनाएको छ।

३५औँ प्याब्सन दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिका–०४ मा अवस्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा आश्रित बालबालिकालाई भीमदत्त नगरपालिका स्थित होटल चेतनमा बेलुकाको डिनर गराइएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा योजना आयोगका सदस्य हिरा चन्दले सामान्यतः बालबालिकाहरू आफ्ना अभिभावकसँग होटलमा गएर रमाइलो गर्दै खाना खाने अनुभव गर्छन्, तर ती अनुभूति अनाथ बालबालिकाले कमै मात्र पाउने बताए। “यी बालबालिकालाई पनि उनीहरूको सुख–दुःखमा साथ दिने कोही छ भन्ने अनुभूति दिलाउन र अभिभावकत्वको भाव प्रदान गर्न एकछाक खाना खुवाउने कार्यक्रम आयोजना गरिएको हो,” उनले भने।

कार्यक्रम कञ्चनपुर जिल्ला प्याब्सनका अध्यक्ष महादेव भट्टको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा प्याब्सनका वरिष्ठ उपाध्यक्ष राकेश चन्दले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव अंकल रोकायाले कार्यक्रम सञ्चालन गरेका थिए।उक्त कार्यक्रममा प्याब्सनका पदाधिकारीहरू, प्याब्सनसँग आबद्ध विभिन्न विद्यालयका शिक्षक तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।






