तीन सय बढी विद्यार्थीलाई छ लाख मूल्य बरावरको न्यानो लुगा र झोला वितरण

झलारी : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ स्थित दुई विद्यालयमा अध्ययनरत अति विपन्न र बाढी प्रभावित परिवारका तीन सय ५९ विद्यार्थीलाई न्यानो लुगा तथा झोला वितरण गरिएको छ । आर्थिक अबस्था कमजोर भएका अभिभावक रोजगारीका लागि भारत पलायन भएका र घरमा वृद्धवृद्धाको सहारामा रहेका असिग्राम माध्यमिक विद्यालय र मंगल आधारभूत विद्यालयका बालबालिकालाई लक्षित गरी न्यानो लुगा र झोला वितरण गरिएको हो ।

वडा कार्यालयको समन्वयमा नेपाल ख्रीष्टियन राहत सेवा ललितपुरले करिब रु छ लाख बराबरको न्यानो लुगा र झोला सहयोग गरेको असिग्राम माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बहादुर ऐरले बताउनु भयो । उहाँका अनुसार असिग्राम माध्यमिक विद्यालयका बाल विकास देखि कक्षा १० सम्म अध्ययन गर्दै आएका दुई सय ६९ र मंगल आधारभूत विद्यालयमा पठनपाठन गर्दै आएका सबै ९० विद्यार्थीलाई न्यानो लुगा र झोला वितरण गरिएको छ ।

अध्यक्ष ऐरले दलित तथा जनजाति समुदायको बाहुल्यता रहेका यी विद्यालयमा शैक्षिक सुधार र विद्यार्थीको नियमितताका लागि सहयोग गरिएको बताउनु भयो । “कयौँ बालबालिकाका अभिभावक भारतमा रोजगारी गर्छन्, घरमा उनीहरू बुढापाकाको संरक्षणमा छन्,” उहाँले भन्नुभयो, “जाडोमा न्यानो लुगा र झोलाको अभावमा पठनपाठन नरोकियोस् भनेर यो पहल गरेका हौँ ।”

राहत सेवाका अध्यक्ष ओमप्रकाश सुब्बाले विद्यालयमा पढदै आएका विपदबाट प्रभावित अति विपन्न परिवारका बालबालिकालाई न्यानो लुगा र झोला वितरण गरिएको बताउनु भयो । यो संगै आगामी दिनहरुमा विपद् व्यवस्थापन र शिक्षा क्षेत्रमो सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । वडा कार्यालयले पनि आफ्नो तर्फबाट मङगल आधारभूत विद्यालयका विद्यार्थीलाई ९० थान झोला थप गरी सोही क्रममा वितरण गरेको छ ।

ताजा समाचार

spot_img