झलारी : शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वन उपभोक्ता समूहको २४औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। वन उपभोक्ता समूहका अध्यक्ष अमरबहादुर ऐरको अध्यक्षता तथा शुक्लाफाँटा नगरपालिकाकी उपप्रमुख कल्पना पन्तको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो। साधारणसभामा अध्यक्ष ऐरले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक वन क्षेत्रमा चरीचरन पूर्ण रूपमा बन्द गरिएको, नदी कटान नियन्त्रण गरिएको तथा वनको पुनःउत्पादनमा उल्लेखनीय वृद्धि भएको जानकारी दिए।

उनका अनुसार वन क्षेत्रमा जंगली जनावरको संख्या दोब्बर भएको छ भने जडीबुटीको मात्रा पनि वृद्धि भएको छ वन भित्रका खाली क्षेत्रहरूमा वृक्षारोपण गरिएको र उपभोक्तालाई पर्याप्त मात्रामा भुईँघाँस उपलब्ध गराइएको अध्यक्ष ऐरले बताए। साथै, उपभोक्तालाई विवाह, व्रतबन्ध तथा मृत्यु संस्कारका लागि आवश्यक दाउरा उपलब्ध गराउँदै आएको उनले जानकारी दिए। दाउराको खपत कम गर्ने उद्देश्यले विद्युतिय चुलो वितरण गरिएको, रामजानकी मन्दिरको पूर्वाधार निर्माणमा आर्थिक सहयोग गरिएको तथा दीपनगर स्वास्थ्य चौकीका लागि औषधि खरिद गरिएको प्रतिवेदनमा उल्लेख छ। युवालाई कुलतबाट जोगाउन खेलकुद सामग्री वितरण गरिएको पनि जनाइएको छ।

यसैगरी कार्यालय गेट निर्माण, एकल महिला तथा विपन्न वर्गका महिलालाई झाडी सफाइ तथा आर्थिक सहयोग, अग्नि नियन्त्रण उपकरण खरिद, सिद्धनाथ संरक्षण तथा समन्वय समितिलाई आर्थिक सहयोग गरिएको अध्यक्ष ऐरले बताए। सामुदायिक वनले नन्दसिंह सुनार, लालबहादुर खुना, मानसिंह भण्डारी, गंगा सुनार, सीमा लुहार, धुम्नी राना, भागरथी केसी, धानादेवी ऐर र खगेन्द्रबहादुर ऐर गरी ९ जना उपभोक्तालाई आर्थिक सहयोगसमेत प्रदान गरेको जनाएको छ।साधारणसभामा आगामी कार्ययोजनाअन्तर्गत काठ संकलन तथा वितरण, सचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन, विधान बमोजिम सदस्यता अनुमोदन, आर्थिक सहयोग तथा पुरस्कार प्रदान गर्ने लक्ष्य तय गरिएको छ।

साथै लागुऔषध दुव्र्यसन, सरसफाइसम्बन्धी सचेतना अभियान, वृक्षारोपण, उद्यमशीलता तथा सीप विकास कार्यक्रम सञ्चालन गर्ने योजना पनि रहेको छ। वन उपभोक्ता र पदाधिकारीबीच वन संरक्षणसम्बन्धी अन्तर्क्रिया, अग्नि नियन्त्रण, वन्यजन्तु संरक्षण, चोरी निकासी नियन्त्रण, इको पार्क तथा पिकनिक स्थल निर्माण, सभाहल निर्माण, स्वास्थ्य शिविर सञ्चालन र चोकचोकमा विद्युत बत्ती जडान गर्ने योजना पनि आगामी कार्ययोजनामा समावेश गरिएको छ। साथै सरस्वती माध्यमिक विद्यालयका उत्कृष्ट नतिजा ल्याउने एक जना विद्यार्थीलाई ‘श्रीकृष्ण छात्रवृत्ति’ प्रदान गर्ने लक्ष्य लिइएको छ।
साधारणसभामा वनका कोषाध्यक्ष राजु रानाले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वनको कुल आयव्यय ७९ लाख ९८ हजार ३ सय ६४ रुपैयाँ रहेको जानकारी दिइन्। कार्यक्रमको सञ्चालन उपभोक्ता अतुलबहादुर ऐरले गरेका थिए भने वडा नम्बर ११ का वडा अध्यक्ष शेरबहादुर साउँद विशिष्ट अतिथिका रूपमा सहभागी थिए। वडा अध्यक्ष साउँदले वन ऐन तथा नियमावलीको पालना गर्दै संरक्षणका कार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।






