झलारी : शुक्लाफाँटा नगरपालिकामा लैंगिक हिंसा तथा हानिकारक परम्परा विरुद्ध समुदायको भूमिका सुदृढ गर्ने उद्देश्यले साथी संस्थाले सरोकारवालासँग परामर्श तथा समन्वयात्मक बैठक आयोजना गरेको छ । संस्थाले सञ्चालन गरिरहेको रुढिगत लैंगिक भूमिका तथा हानिकारक परम्परा विरुद्ध समुदायको भूमिका र हिंसा निवारणमा स्थानीय सरकारको स्वामित्व, समन्वय तथा सहकार्य कार्यक्रमअन्तर्गत बैठक आयोजना गरिएको हो। बैठकमा साथी संस्थाका कार्यक्रम संयोजक पार्वती भण्डारीले संस्थाले वर्षभरि सञ्चालन गरेका गतिविधिबारे जानकारी गराउनुभयो। उहाँका अनुसार लैंगिक हिंसा विरुद्ध समुदायस्तरमा ८१४ जनालाई सचेतना प्रदान गरिएको छ भने विद्यालयस्तरमा १ हजार ५०० विद्यार्थीलाई अभिमुखीकरण गरिएको छ। साथै किशोरीहरूलाई आत्मरक्षाका लागि ६०० जनालाई तालिम दिइएको छ।

लैंगिक हिंसामा परेका महिला तथा किशोरीहरूको आर्थिक अवस्था सुधार गर्न व्यवसाय सञ्चालन, बाख्रा र गाईपालन तथा किराना पसल सञ्चालनका लागि सहयोग गरिएको जानकारी दिँदै संयोजक भण्डारीले १५० जनालाई मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको र गम्भीर रोगबाट पीडित ५० जनालाई सहयोग गरिएको बताउनुभयो। मानसिक स्वास्थ्य, विद्यार्थी सचेतना, लैंगिक हिंसासम्बन्धी चित्रकला प्रतियोगिता तथा मर्यादित महिनावारी प्रवद्र्धनका लागि बोर्ड राख्ने कार्यसमेत गरिएको उहाँको भनाइ छ। संस्थाका मनोसामाजिक परामर्शकर्ता लेखनाथ पोख्रेलले तथ्यांकअनुसार महिलाहरू कुनै न कुनै प्रकारको हिंसामा पर्ने गरेको उल्लेख गर्नुभयो। उहाँले गलत उपचार पद्धति अपनाउँदा समस्या झनै जटिल बन्ने भन्दै सकारात्मक सोच र असल आचरणले मानसिक समस्या कम हुने बताउनुभयो।

धर्म र संस्कृतिका नाममा तथा अनलाइन माध्यमबाट हुने हिंसाका घटनाहरू बढ्दै गएको उहाँको भनाइ छ। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले लैंगिक हिंसाबाट महिला मात्र नभई पुरुष पनि पीडित हुने गरेको बताउनुभयो। बारम्बार हुने हिंसाले महिला तथा पुरुष दुवै आत्महत्यातर्फ धकेलिने अवस्था सिर्जना हुने गरेको उल्लेख गर्दै किशोर–किशोरीमा अपरिपक्व प्रेमसम्बन्ध पनि आत्महत्याको एक कारण बनेको उहाँले बताउनुभयो। शुक्लाफाँटा नगरपालिका–११ का वडा अध्यक्ष शेरबहादुर साउदले गलत, तथ्यहीन र मानमर्दन हुने समाचार प्रकाशन तथा प्रसारणले समेत हिंसा बढाउने गरेको बताउनुभयो। समाजमा विद्यमान सबै प्रकारका हिंसा हटाउनका लागि सकारात्मक सोच लिएर अघि बढनुको विकल्प नरहेको बताउनु भयो ।

साथी संस्थाले वडास्तरमा सञ्चालन गरेका कार्यक्रमपछि किशोर–किशोरीमाथि हुने हिंसाका घटनामा कमी आएको र आयआर्जन सहयोगले पीडित महिलालाई दैनिकी चलाउन सहज भएको उहाँको भनाइ छ। नगर उपप्रमुख कल्पना पन्तले हिंसा नभएको ठाउँ कहीँ नभएको उल्लेख गर्दै हिंसा रोकथामका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। हिंसामा परेकाहरूलाई आयआर्जनमा सहयोग गर्ने कार्य प्रशंसनीय रहेको उहाँले बताउनुभयो। बैठकमा कृष्णपुर नगरपालिका २ र शुक्लाफाँटा नगरपालिका ११ का जनप्रतिनिधि, लैंगिक हिंसा निगरानी समूह, नेपाल प्रहरी, महिला समूह, बाल क्लब, नागरिक समाज, विद्यालय, गैरसरकारी संस्था तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। बैठकमा नगर प्रमुख रण बहादुर महराको समेत सहभागीता रहेको थियो ।






