हेमा भट्ट/ कैलाली : थारु समुदायबाट नेपालको पहिलो महिला पाइलट बन्न सफल धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँ निवासी टीका चौधरीलाई धनगढी उपमहानगरपालिकाले भव्य स्वागत तथा सम्मान गरेको छ। महिला सशक्तीकरण, सामाजिक समावेशिता र युवापुस्ताका लागि प्रेरणाको प्रतीक बनेकी चौधरीलाई विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो।

सम्मान कार्यक्रममा नगर प्रमुख गोपी हमालले टीका चौधरीको सफलता थारु समुदाय मात्र नभई सुदूरपश्चिम प्रदेश र समग्र देशकै महिलाहरूका लागि गर्वको विषय भएको बताए। परिश्रम, धैर्य र आत्मविश्वासका साथ अघि बढे असम्भव भन्ने केही हुँदैन भन्ने सन्देश चौधरीको यात्राले दिएको उनले उल्लेख गरे। यस्ता उपलब्धिले समाजमा सकारात्मक सोच विकास गर्दै भावी पुस्तालाई प्रेरणा दिने नगर प्रमुख हमालको भनाइ थियो।

उप–नगर प्रमुख कन्दकला रानाले शिक्षा, सीप र अवसर प्राप्त भए महिलाहरू जुनसुकै क्षेत्रमा पनि सफल हुन सक्छन् भन्ने सन्देश टीका चौधरीको सफलताले दिएको बताइन्। उनले महिला तथा सीमान्तकृत समुदायका छोरीहरूको क्षमता अभिवृद्धि र प्रतिभा पहिचानमा उपमहानगरपालिका निरन्तर प्रतिबद्ध रहेको स्पष्ट पारिन्।

कार्यक्रममा उपमहानगरपालिकाका शाखा प्रमुख, कर्मचारी, जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नगरपालिकाको तर्फबाट दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्दै फूलमालासहित भव्य स्वागत गरिएको थियो।
सम्मान ग्रहण गर्दै पाइलट टीका चौधरीले आफूलाई यहाँसम्म पुर्याउन सहयोग गर्ने परिवार, शिक्षक, प्रशिक्षक तथा सम्पूर्ण नगरवासीप्रति आभार व्यक्त गरिन्। “यो सम्मानले मेरो जिम्मेवारी अझ बढाएको छ। अब म आफ्नो पेशागत यात्रासँगै समाजका छोरीहरूलाई सपना देख्न र त्यसलाई पूरा गर्न प्रेरित गर्ने कार्यमा लाग्नेछु,” उनले भनिन्।
धनगढी उपमहानगरपालिकाले टीका चौधरीको सफलतालाई नगरकै गौरवको विषय भएको जनाउँदै आगामी दिनमा पनि उहाँको यात्रामा आवश्यक साथ, सहयोग र शुभेच्छा निरन्तर रहने जनाएको छ। कार्यक्रममा सहभागीहरूले स्थानीय तहबाट प्रतिभाको सम्मान र प्रोत्साहनले समाजमा सकारात्मक परिवर्तन ल्याउने धारणा व्यक्त गरेका छन्।






