झलारी : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको ११औँ वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष धनेश्वरीदेवी भट्टको अध्यक्षतामा आयोजित सभाको उद्घाटन नगर प्रमुख रण बहादुर महराले गर्नुभएको हो ।

आर्थिक प्रगति र कारोबार साधारण सभामा लेखा संयोजक लक्ष्मी कुमारी महराले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन अनुसार संस्थाको कुल आम्दानी रु एक करोड ५३ लाख ७४ हजार चार सय ६७ रहेको छ । सबै खर्च कटाएर संस्थाले रु ६७ लाख ८४ हजार तीन सय ३३ खुद नाफा आर्जन गर्न सफल भएको जानकारी गराइएको थियो । सहकारीमा हाल एक हजार छ सय ५० शेयर सदस्य रहेका छन् भने शेयर रकम रु दुई करोड ६८ लाख ९० हजार चार सय २२ पुगेको छ ।

साधारण सभाका अवसरमा सहकारीले विभिन्न विधामा सदस्यहरूलाई सम्मानित गरेको छ । कार्यक्रममा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट किसान र असल ऋणीहरूलाई दोसल्ला तथा प्रमाणपत्र प्रदान गरिएको थियो । सोही अवसरमा चिकित्सा शास्त्रमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल सहकारीका सदस्यका सन्ततीलाई समेत प्रोत्साहन स्वरूप सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष धनेश्वरीदेवी भट्टले सञ्चालक समितिको तर्फबाट नीतिगत प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले झेलिरहेका चुनौती र आगामी कार्यदिशाबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रण बहादुर महराले महिलाहरूको आर्थिक सशक्तीकरणमा साना किसान सहकारीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले नगरपालिकाले सहकारीहरूसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
त्यस्तै, विशिष्ट अतिथि नगर उप–प्रमुख कल्पना पन्त र नेपाल कृषि सहकारी संघका केन्द्रीय सदस्य धर्म बहादुर कुँवरले सहकारीले कृषि उत्पादन र बजारीकरणमा थप लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।






