शुक्लाफाँटा–११ मा सुशासन र समृद्धिका लागि सरोकारवालासँग संवाद

झलारी: शुक्लाफाँटा नगरपालिका–११ का वडा अध्यक्ष शेरबहादुर साउँदले वडाको दीर्घकालीन समृद्धि र सुशासनलाई संस्थागत गर्ने उद्देश्यसहित वडा अन्तर्गत रहेका विद्यालय, सामुदायिक वन, सहकारी तथा वित्तीय संस्था, खानेपानी समिति, विद्युत सहकारी लगायत सरोकारवाला निकायसँग निरन्तर संवाद थालेका छन्।

वडास्तरमा कार्यरत संघसंस्थाको कर्तव्य र अधिकार, पारदर्शिता, कार्यान्वयनको अवस्था, कानुनी जटिलता, सेवाप्रवाहमा देखिएका समस्या तथा जनगुनासोबारे छलफल केन्द्रित रहेको वडा अध्यक्ष साउँदले जानकारी दिए। उनले वडाभित्र क्रियाशील संघसंस्थाले अनिवार्य रूपमा वडा कार्यालयमा प्रगति प्रतिवेदन बुझाउनुपर्ने स्पष्ट पार्दै अटेरी गर्ने संस्थाको सेवा रोक्का गर्नेसम्मको कदम चालिने चेतावनी दिए।
“सरोकारवालासँगको संवादले वडाको चौतर्फी विकासमा सहयोग पुग्छ,” वडा अध्यक्ष साउँदले भने, “यसले आगामी योजना तर्जुमा गर्न र जनताको आवश्यकता पहिचान गर्न मद्दत गर्छ।”

वडा सचिव हरिलाल चौधरीले समन्वयात्मक ढङ्गले जनतालाई प्रवाह गरिने सेवाबारे जानकारी आदान–प्रदान गर्न संवाद कार्यक्रम प्रभावकारी माध्यम भएको धारणा राखे।
छलफलका क्रममा कलुवापुर खानेपानी समितिका सचिव टेकबहादुर भण्डारीले हाल करिब ६ सय घरधुरीमा मात्र खानेपानी सेवा विस्तार भएको जानकारी दिँदै पाइपलाइन विस्तार गरी २ हजार घरधुरीमा शुद्ध पानी पुर्‍याउने लक्ष्य रहेको बताए।

“यसका लागि वडा कार्यालयको सहकार्य अपरिहार्य छ,” उनले भने। सामुदायिक वनका प्रतिनिधिहरूले चिसो मौसमसँगै दाउराको अभाव गम्भीर बन्दै गएको गुनासो गरे। कालिका सामुदायिक वनका उपाध्यक्ष राज सार्कीले काठ दाउरा रोक्का हुँदा उपभोक्ता चिसोमा दाउराबाट वञ्चित भएको बताए। श्रीकृष्ण सामुदायिक वनका अध्यक्ष अमरबहादुर ऐरले अनुमति नपाउँदा घाटगद्दीमा राखिएको काठ कुहिन थालेको जानकारी दिए।

त्यस्तै बसन्त सामुदायिक वनका अध्यक्ष रनसिंह सुनारले चिसो बढेसँगै दाउराको माग धान्न नसकिने अवस्था आएको बताए। “दाहसंस्कार, विवाह जस्ता अति आवश्यक कार्यका लागि छुट्याइएको दाउरा समेत उपभोक्ताको माग धान्न दिनुपरेको छ,” उनले भने। शिक्षा क्षेत्रका सरोकारवालाले विद्यालय सुरक्षा र शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। दिप नगर आधारभूत विद्यालयका प्रधानाध्यापक दिपकराज भट्टले सामुदायिक वन नजिकै विद्यालय भवन रहेकाले जंगली जनावरबाट जोखिम बढेको बताए। “वन क्षेत्रमा पर्खाल नहुँदा बदेल, निलगाई, चितल जस्ता जनावर विद्यालय परिसरमै आउने गरेका छन्,” उनले भने।

सिद्धभीम आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराज भट्टले विद्यालयको शैक्षिक सुधारका लागि पूर्वाधार विकास, सिकाइ सामग्री र शिक्षकको दक्षता अभिवृद्धिमा लगानी बढाउनुपर्ने बताए। दशरथ आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल विकले लामो समयदेखि विद्यालयहरूको प्रभावकारी अनुगमन नहुँदा समस्या कायमै रहेको गुनासो गरे।

दशरथ आधारभूत विद्यालयकी प्रधानाध्यापक धर्मा भण्डारीले अभिभावकहरूको कमजोर आर्थिक अवस्थाका कारण चिसो मौसममा बालबालिकासँग न्यानो लुगा नहुँदा पठनपाठन प्रभावित हुने गरेको बताइन्। वडास्तरमा सुरु गरिएको यस प्रकारको निरन्तर संवादले संघसंस्था, विद्यालय र समुदायबीच सहकार्य सुदृढ गर्दै सुशासन र दिगो विकासको आधार तयार गर्ने अपेक्षा गरिएको छ।

ताजा समाचार

spot_img