कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका वडा नं. १२ मा युवाहरूलाई लक्षित गरी विपद् जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशील समुदाय निर्माण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । जलवायु उत्थानशील समुदाय निर्माणका लागि युवाहरूको ज्ञान, सीप र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले पुस १३ र १४ गते उक्त तालिम आयोजना गरिएको हो।

हेविटाट फर ह्युम्यानिटी र निड्स नेपालद्वारा सञ्चालित “सुरक्षित आवास, सुरक्षित नेपाल“ परियोजना अन्तर्गत यो तालिम सञ्चालन गरिएको हो। तालिममा नगरपालिकाको वडा नं. १, १२ र १० का दोदा, वनहरा र स्याली नदीको तटीय क्षेत्रमा रहेका उच्च जोखिमयुक्त बस्तीहरू दुवाह, आन्द्राजाला, कालागौंडी, वैशाखा, लौटा, भोरकुण्डा, खजुवापट्टी र झलारी शिविरका १८ देखि २५ वर्ष उमेर समूहका युवाहरूको सहभागिता रहेको थियो।

परियोजनाका सामाजिक परिचालक अधिकृत लाल बहादुर डगौरा थारुका अनुसार तालिममा युवाहरूलाई विपद्को पहिचान र पूर्वतयारी (बाढी, डुबान र अन्य प्राकृतिक प्रकोपको जोखिम पहिचान गर्ने र त्यसबाट बच्न अपनाउनुपर्ने सावधानीहरू¬) जलवायु परिवर्तन अनुकूलन (जलवायु परिवर्तनले समुदायमा पारेको असर र त्यससँग जुध्नका लागि स्थानीय स्तरमा गर्न सकिने उपायहरू) नेतृत्व विकास (विपद्को समयमा समुदायलाई नेतृत्व प्रदान गर्ने र राहत तथा उद्धार कार्यमा समन्वय गर्ने तरिका) र सुरक्षित आवासको महत्व (प्रकोप प्रतिरोधी घर निर्माण र सुरक्षित बसोबासका प्राविधिक पक्षहरू) का बारेमा दक्ष प्रशिक्षक द्धारा तालिम दिईएको छ ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि वडा नं १२ का वडा अध्यक्ष नवल सिंह रानाले युवाहरू परिवर्तनका सम्वाहक भएको उल्लेख गर्दै तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न र समुदायलाई सचेत बनाउन आग्रह गर्नुभयो।
परियोजना संयोजक सरस्वती बमले जलवायु परिवर्तनको बढ्दो जोखिमका बीच समुदायलाई थप मजबुत बनाउन युवाहरूको सक्रियता अनिवार्य रहेको बताउनुभयो । उहाँले सुरक्षित आवास निर्माणमा परियोजनाले पु¥याउँदै आएको सहयोगबारे पनि प्रकाश पार्नुभयो ।
त्यस्तै, निड्स नेपालका कोषाध्यक्ष विनिता लुहारले विपद् व्यवस्थापनमा महिला र युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताउँदै तालिमले स्थानीय स्तरमा दक्ष स्वयंसेवक उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो । तालिम समापन कार्यक्रमको सञ्चालन परियोनजाका समाजिक परिचालक अधिकृत लाल बहादुर डगौरा थारुले गर्नु भएको थियो । दुई दिने तालिममा झण्डै ४० बढी युवाहरुको सहभागीता रहेको थियो ।






