कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको ध्रुर्वतारा सामुदायिक कृषि सहकारी संस्थाले किसानहरूलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न अनुदानमा पावर टिलर उपलब्ध गराएको छ । कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाउने उद्देश्यले सहकारीले नगरपालिकाको वडा नं ११ कलुवापुरका आठ जना कृषकलाई अनुदानमा पावर टिलर उपलब्ध गराएको हो ।

व्यावसायिक तरकारी खेती, उखु, तेलहन र बीजबृद्धि कार्यमा संलग्न किसानहरूलाई छनौट गरी खेत जोत्ने कार्यमा सहजता ल्याउन अनुदानमा पावर टिलर उपलव्ध गराईएको सहकारीका अध्यक्ष लालबहादुर ऐरले जानकारी दिनुभयो । अध्यक्ष ऐरले भन्नुभयो, “व्यावसायिक खेती गरिरहेका र आगामी दिनमा गर्ने प्रतिबद्धता जनाएका किसानलाई मात्र छनौट गरि पावर टिलर उपलव्ध गराउने कार्य गरिएको छ ।”

अध्यक्ष ऐरका अनुसार उपलब्ध गराइएको २२ हर्स पावर क्षमताको एक थान पावर टिलरको बजार मूल्य करिब दुई लाख रुपैयाँ रहेको छ । अनुदानमा पावर टिलर पाएपछि स्थानीय किसान सुरेश रानाले खुसी व्यक्त गर्नुभयो । “पहिले गोरुले खेत जोत्दा निकै सास्ती हुन्थ्यो, गोरुका लागि घाँसको जोहो गर्नुपर्ने, जोत्न धेरै समय लाग्ने र स्याहारसुसारमा धेरै मेहनत खर्चिनुपर्थ्यो,“ रानाले भन्नुभयो, “अब पावर टिलर पाएपछि समयको बचत हुनुका साथै खेतीपातीमा निकै सहज हुने भएको छ ।”

ध्रुर्वतारा सहकारीले कृषिको आधुनिकीकरणका लागि गत वर्ष पनि पाँच वटा मिनी टिलर र दुई वटा पावर टिलर अनुदानमा वितरण गरेको थियो । उपकरण वितरण मात्र नभई यो सहकारी आफैँ पनि व्यवसायीक कृषि उत्पादनको क्षेत्रमा क्रियाशिल रहेको छ । हाल सहकारीले झण्डै चार बिघा जग्गामा उन्नत जातको व्यावसायिक आलु र तोरी खेती गरिरहेको छ ।
सहकारीले चैते धान, वर्षे धान र गहुँको बीउ उत्पादन गरी आफ्ना एक हजार चार सय सदस्यहरूलाई अनुदानमा वितरण गर्दै आएको छ । यस कार्यले उन्नत बीउबिजनको उपलब्धता बढाउन र किसानलाई व्यावसायिक बनाउन सहकारीले महत्वपूर्ण भूमिका खेलेको छ ।






