झलारी : सद्भाव युवा समाज दोहा, कतारले शुक्लाफाँटा नगरपालिका–११ मा रहेको दशरथ आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । समाजले विद्यालयलाई शैक्षिक सामग्री सहित खेलकुद सामग्री, स्टेशनरी, फर्निचर, ह्वाईटबोर्ड, कार्यालय व्यवस्थापन तथा सरसफाइ सामग्री सहयोग गरेको हो ।

समाजले सम्पूर्ण बालबालिकालाई वर्षभरि पुग्ने गरी आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेको विद्यालयका प्रद्यानाअध्यापक धर्मा ऐर (भण्डारी)ले बताउनु भयो । समाजले कापि, डटपेन, बालविकासका सामग्री, खेलकुदका सामग्री, कार्यालय व्यवस्थापनमा सहयोग पुग्ने सामग्री प्रदान गरेको उहाँले बताउनु भयो । विद्यालयमा प्रदान गरिएका सामग्री झण्डै रु एकलाख मूल्य बढीको रहेको बताईएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल कामीले सहयोगले विद्यार्थीको पठनपाठन, खेलकुद गतिविधि तथा विद्यालय व्यवस्थापनमा उल्लेखनीय टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । वडा नम्बर ११ का वडा अध्यक्ष शेरबहादुर साउदले विदेशमा रहेका नेपाली युवाले शिक्षाको क्षेत्रमा पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता सहयोगले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा मद्दत पुग्ने बताउनुभयो । निवर्तमान वडा अध्यक्ष दिलबहादुर बुढाले समाजसेवी युवाहरूको सक्रियताले विद्यालय र समुदायबीचको सम्बन्ध अझ सुदृढ भएको धारणा राख्नुभयो ।

विद्यालयमा ९५ प्रतिशत विद्यार्थी अति विपन्न दलित समुदायका अध्ययन गर्दै आएका छन भने अन्यमा जनजातीका बालबालिका विद्यालयमा अध्ययनरत रहेका छन । यस अघि अमेरिकामा बस्ने प्रवासी प्रकास सुनारले विद्यालयका विद्यालर्थीलाई न्यानो पोशाक सहयोग गर्नु भएको थियो ।स्थानिय समाजसेवीको सहयोगमा विद्यालयका बालबालिकाका लागि छ वटा कम्प्युटर सहयोग पनि गरिएको थियो ।






