धनगढीमा बोसिया खेल प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न


धनगढी: सुदूरपश्चिम प्रदेशको धनगढीमा बोसिया खेल प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ।

एविलिस फाउण्डेसन फिनलेन्डको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपाल बोसिया संघद्वारा पूर्ण तथा अतिअशक्त (मस्तिष्क पक्षाघात, मस्कुलर डिस्ट्रोफी, सिभियर स्पाइनल कर्ड इन्जुरी, स्पाइना बिफिडा लगायत) अपाङ्गता भएका खेलाडीहरूका लागि आयोजित बोसिया खेल प्रदर्शनी तथा प्रतियोगिता धनगढीमा सफलतापूर्वक सम्पन्न भएको हो।

नेपाल अपाङ्ग संघ कैलाली र निर्सग हस्पिटलको समन्वयमा धनगढी रंगशालास्थित कराते प्रशिक्षण हलमा एकदिने कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सु.प. समावेशी आधारभूत विद्यालय अत्तरियाका विद्यार्थीहरू, अपाङ्गता भएका व्यक्तिहरू, खेलप्रेमी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थितिमा उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त प्रतियोगिताका लागि निर्सग हस्पिटलले ड्रेस समेत सहयोग गरेको थियो।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघ अध्यक्ष गोमादेवी पौडेलको सभापतित्वमा
प्रमुख अतिथि धनगढी उपमहानगरपालिका वडा नं. ०१ का अध्यक्ष सन्तोष मुडमरी रहेका थिए। नेपाल बोसिया संघका उपाध्यक्ष रबिन्द्र खत्री निर्सग हस्पिटलका अध्यक्ष तिर्थराज पन्त, टेकेन्द्र देउवा, नेपाल अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका पुर्व अध्यक्ष मानबहादुर साउँद, पत्रकार भवानी ऐर, अनिता ढुंगाना, स्पाइनल कर्ड इन्जुरी समूह कैलालीका अध्यक्ष रामप्रसाद जोशी लगायतको उपस्थिति रहेको थियो।

प्रदर्शनी तथा प्रतियोगितामा सहभागिता जनाएका खेलाडीहरूले बोसिया खेलमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी सम्पूर्ण खेलाडीहरूलाई प्रमाणपत्र तथा प्रशंसा–पत्र प्रदान गर्दै हौसला प्रदान गरिएको थियो।

कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूका लागि खेलकुदमार्फत आत्मविश्वास अभिवृद्धि, सामाजिक समावेशीकरण र खेल प्रतिभा विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्। कार्यक्रमको सञ्चालन नेपाल बोसिया संघका उपाध्यक्ष रबिन्द्र खत्रीले गर्नुभएको थियो।

उक्त कार्यक्रमको सम्पन्न पश्चात् नेपाल बोसिया संघको सुदूरपश्चिम प्रदेश स्तरीय समिति गठन गरिएको छ। धनबहादुर महता (बिकाश) को अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो। कार्यसमिति उपाध्यक्षमा अनिता ढुंगाना, सचिव बिक्रम सिजाली, सहसचिव ईश्वर बहादुर पाली, कोषाध्यक्ष पुष्पा पाण्डेय, सदस्यहरु मान बहादुर बोहरा, नृप बहादुर साउँद, अमन चौधरी र टीका कुमारी पुरी रहेका छन्। भने सल्लाहकार संयोजकमा मान बहादुर साउँद सदस्यमा तिर्थराज पन्त र दिपेन्द्र सिंह रहेका छन्।


ताजा समाचार

spot_img