श्रीकृष्ण माध्यमिक विद्यालयको ६१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

झलारी : शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयले आज ६१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ। विद्यालयले प्रत्येक वर्ष पुस १ गते स्थापना दिवसको अवसर पारेर वार्षिक उत्सव कार्यक्रम आयोजना गर्दै आएको छ।
वार्षिकोत्सव कार्यक्रमको नगर उप–प्रमुख कल्पना पन्तले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो।

उद्घाटन समारोहमा मन्तव्य राख्दै उहाँले शैक्षिक क्षेत्रको विकासका लागि शुक्लाफाँटा नगरपालिकाले ठूलो धनराशि खर्च गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय प्रशासन, शिक्षक, अभिभावक र विद्यार्थी सबै प्रतिबद्ध भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो। पूर्व प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले शिक्षा नै समाज परिवर्तनको प्रमुख आधार भएको उल्लेख गर्दै विद्यालयले अनुशासन, नैतिकता र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो। उहाँले विद्यालयले उत्पादन गर्ने जनशक्तिले नै देशको भविष्य निर्माण गर्ने भएकाले शैक्षिक संस्थाले दीर्घकालीन सोचका साथ काम गर्नुपर्ने धारणा राख्नुभयो।

सिद्धबैजनाथ बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सिद्धराज भट्टले विद्यालयको शैक्षिक प्रगतिको कामना गर्दै शिक्षाको गुणस्तर सुधारका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।  वडा नम्बर १० का वडा अध्यक्ष लालबहादुर ऐरले नगरपालिकाको सहयोग र स्थानीय तहको समन्वयमा विद्यालयको भौतिक तथा शैक्षिक विकासलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सृजनात्मक तथा सदनात्मक खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई अतिथिहरूले पुरस्कार वितरण गर्नुभएको थियो। साथै शैक्षिक वर्षभरि उत्कृष्ट प्रदर्शन गर्ने जेहेन्दार विद्यार्थीहरूलाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

विद्यालयमा कार्यरत रहँदा उल्लेखनीय योगदान पु¥याई सरुवा भई अन्य विद्यालयमा गएका शिक्षकहरूलाई प्रमुख अतिथि पन्तले दोसल्ला र सम्मानपत्रसहित सम्मान गर्नुभयो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न जातजाति र संस्कृतिलाई झल्काउने नृत्य तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए, जसले दर्शकको मन जितेको थियो। कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर सिंहले गर्नुभएको थियो। उहाँले श्रीकृष्ण माध्यमिक विद्यालयलाई नगरकै उत्कृष्ट विद्यालयका रूपमा विकास गर्न कुनै कसर बाँकी नराखिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक पिताम्बर जोशीले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक राजेन्द्रबहादुर ऐरले गर्नुभएको थियो। वार्षिकोत्सव कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखाका प्रतिनिधि, नगर क्षेत्रका विभिन्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, सामाजिक क्षेत्रका व्यक्तित्व, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

ताजा समाचार

spot_img