भुवन भट्ट/कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचार बढीरहेको छ । पालिका, प्रदेश र संघीय कार्यालयका कर्मचारी कमिसन, भ्रष्टाचारमा लिप्त भएपछि सुदूरमा भ्रष्टाचार पनि बढिरहेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तथ्याङ्क अनुसार पनि प्रदेशका पालिका सहितका सरकारी, सार्वजनिक निकायमा भ्रष्टाचार बढिरहेको हो । कञ्चनपुरमा अख्तियारको कार्यालय स्थापना भएको झण्डै डेढ दशक पनि भयो, यो अवधिमा थुप्रै रंगेहात घुस सहित कर्मचारी पक्राउ पर्दै आएका छन । तर, भ्रष्ट कर्मचारी अख्तियारदेखेर डराउनु, त्रसित हुनुको साटो झन झन भ्रष्टाचार गर्न उत्साहित भएको तथ्यले पाईन्छ । चर्चित महेन्द्रनगर नगरविकास काण्डकोे जमिन घोटाला काण्डमा एक पुर्व अध्यक्ष जेल चलान भएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा चालु आर्थिक आवको मङ्सिर दोस्रो सातासम्म चार सय ४४ उजुरी दर्ता भएका छन् ।

आर्थिक वर्ष २०८२–०८३ मा दर्ता भएका चार सय ४४ वटा र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका चार सय ६२ गरि ९०६ वटा उजुरीको दर्ता भएको आयोगको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी चेतराज भट्टले अख्तियारमा परेका उजुरीमध्ये अत्यधिक शैक्षिक क्षेत्रमा हुने भ्रष्टाचार सम्बन्धित छन् । चालु आवको मङ्सिर दोस्रो सातासम्म शिक्षासम्बन्धी १७४ उजुरी अख्तियारमा दर्ता छन् । विद्यालयको दिवा खाजामा गरिएको भ्रष्टाचार, विद्यालय शिक्षकको सरुवा, भवन निर्माण, सामग्री खरिद, पुस्तकालयमा भएको भ्रष्टाचार अनियमितता सम्बन्धी मुद्दाका अख्तियारमा दर्ता छन् । उनका अनुसार अनुसार, स्थानीय तहसम्बन्धी एक सय तीन उजुरी दर्ता भएका छन् । यसैगरी, वन वातावरणसम्बन्धी १०६ उजुरी, भौतिक पूर्वाधारसम्बन्धी ११४, स्वास्थ्य क्षेत्रका ५३ उजुरी दर्ता भएका छन । अनुसार, ५० प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित रहेका छन् । स्थानीय तहमा हुने नीतिगत भ्रष्टाचार तथा पूर्वाधार सामग्री खरिदलगायत निर्माणका नाममा अत्यधिक भ्रष्टाचारका उजुरीहरू दर्ता भएको बताए । सुदूरपश्चिमको कैलाली जिल्लाबाट अत्यधिक उजुरी दर्ता भएका छन् ।

कार्यायका अनुसार, चालु आर्थिक वर्षको हालसम्म कैलालीबाट दुई सय २० उजुरी यस आयोगको कार्यालयमा दर्ता भएकोमा ६६ उजुरी फछ्र्यौट गरिएका छन् भने, १५४ उजुरीमाथि छानबिन भइरहेको छ । यसैगरी, कञ्चनपुरबाट एक सय ६६ भ्रष्टाचारका उजुरी कार्यालयमा दर्ता छन् । जसमध्ये ६७ उजुरी फछ्र्यौट गरिएका छन् भने ९९ उजुरी फछ्र्यौट हुन बाँकी छन् । अछाम जिल्लाबाट ९० भ्रष्टाचारका उजुरी दर्ता भएकोमा १९ उजुरी फछ्र्यौट गरिएका छन्, भने ७१ उजुरीमाथि अनुसन्धान अगाडि बढाइएको छ । यसैगरी, बैतडी जिल्लाका ८० उजुरी अख्तियारमा दर्ता छन् । जसमध्ये, १५ उजुरी चालु आवमा फछ्र्यौट गरिएका छन् भने ६५ उजुरी फछ्र्यौट हुन बाँकी रहेका छन ।

यसैगरी, दार्चुला जिल्लाका ७४ उजुरी अख्तियारमा दर्ता छन्, जसमध्ये १५ उजुरी फछ्र्यौट गरिएका छन् भने ५९ उजुरी फछ्र्यौट गर्न बाँकी छन् । यसैगरी, बझाङबाट ६७ उजुरी दर्ता भएको सूचना अधिकारी भट्टले बताउनुभयो । बझाङका पनि १५ उजुरी फछ्र्यौट गरिएका छन् भने ५२ उजुरीमाथि अनुसन्धान अगाडि बढाइएको छ । यसैगरी, डोटीका ६४ उजुरी दर्ता भएकोमा १३ उजुरी फछ्र्यौट गरिएका छन् भने ५१ उजुरी फछ्र्यौट हुन बाँकी रहेको कार्यालयले बताएको छ । चालु आर्थिक वर्षको हालसम्म सुदूरपश्चिमको डडेल्धुरा जिल्लाका न्यून उजुरी अख्तियारमा दर्ता भएकाछ । डडेल्धुरा जिल्लाबाट ५५ उजुरी दर्ता भएकोमा २१ उजुरी फछ्र्यौट गरिएका छन् भने ३४ उजुरी फछ्र्यौट हुन बाँकी छन् । चालु आवको हालसम्म नयाँ दर्ता भएका चार सय ४४ र जिम्मेवारी सरी आएका गरी अख्तियारमा जम्मा ९०६ उजुरी दर्ता छन् । जसमध्ये ६५८ उजुरी फछ्र्यौट हुन सकेको छैन भने २५४ उजुरी फछ्र्यौट गरिएको छ ।
‘‘दर्ता भएका नौ सय ६ मध्ये, दुई सय ५४ फछ्र्यौट भएका छन्,’’ सूचना अधिकारी भट्टले भन्नुभयो, ‘‘६ सय ५८ मुद्दा प्रक्रियाका क्रममा रहेका छन् ।’’अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख वेदप्रकाश भण्डारीले एक सय ५० उजुरीमाथि विस्तृत रूपमा अनुसन्धान कार्य अगाडि बढाइएको बताए । सुदूरपश्चिमका नौ वटै जिल्ला तथा ८८ वटै पालिकामा भएका भ्रष्टाचार, अनियमितता सम्बन्धीका मुद्दा उक्त कार्यालयमा दर्ता हुँदै आएका छन् । आयोगको कार्यालय कञ्चनपुरमा जनशक्ति अभाव रहेको बताइएको छ । हाल कार्यालयमा १५ अनुसन्धान अधिकृत र सहायक अनुसन्धान अधिकृत गरी ६३ जना कर्मचारी कार्यरत छन् । आवश्यक जनशक्ति नहुँदा कार्यसम्पादनमा समस्या भएकोदेखि भ्रष्टाचार रोक्न हम्मेहम्मे भएको छ । यसरी जिल्ला, प्रदेशमै अख्तियारको कार्यालय हुँदा समेत भ्रष्टाचार नरोकिएपछि नागरिक चिन्तित भएका छन ।






