मेयर कपमा खेलाडी करन पालमाथि संघात्मक आक्रमण: न्यायका लागि एन्फामा बुझाइयो ज्ञापनपत्र

महेन्द्रनगर: बेलौरी नगर खेलकुद समितिले आयोजना गरेको वडा–स्तरीय पुरुष फुटबल प्रतियोगितामा खेलाडी करन पालमाथि खेलमै समर्थकसहित गरिएको संघात्मक आक्रमणको विरोधमा खेलकर्मी, फुटबलर तथा खेलप्रेमीहरूले एन्फा महासचिव किरण राईलाई ज्ञापनपत्र बुझाएका छन्।

हिंसात्मक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उनीहरूले दोषी पहिचान गरी तत्काल कडा कारबाही गर्न माग गरेका छन्। खेलमैदानमा फैलिएको अनुशासनभंग र हिंसात्मक व्यवहारले खेल समुदाय चिन्तित बनेको भन्दै खेलकर्मीहरूले न्यायिक हस्तक्षेप अनिवार्य भएको टिप्पणी गरेका छन्।

“करन पालको न्यायका लागि फुटबलर र फुटबलप्रेमी अभियान” तर्फबाट बुझाइएको ज्ञापनपत्रपछि एन्फा महासचिव राईले घटनालाई अत्यन्त संवेदनशीलतापूर्वक लिँदै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसँग फोन सम्पर्क गरी छानबिन तीव्र बनाउन आग्रह गरेका छन्।

प्रतिष्ठित हुँदै गएको मेयर कप नै खेलाडीमाथिको आक्रमणले विवादमा तानिँदा खेल क्षेत्र नै असुरक्षित बन्ने चिन्ता व्यक्त भइरहेको छ। खेलप्रेमीहरू भन्छन्, “खेल प्रतिस्पर्धाको हो, प्रतिशोध र हिंसाको होइन।”

घाइते करन पालको स्वास्थ्य अवस्था सामान्य सुधारतर्फ रहेको जनाइएको छ, तर घटनाले उनको मनोबलमा गम्भीर असर पारेको खेलकर्मीहरूको भनाइ छ। आगामी खेलमा सुरक्षाको स्तर कति मजबुत हुनेछ भन्ने कुराको संकेत यही घटनाले दिने खेल समुदायको बुझाइ छ।

ताजा समाचार

spot_img