महेन्द्रनगर: बेलौरी नगर खेलकुद समितिद्वारा १५ गतेदेखि खुला मञ्चमा सञ्चालन भइरहेको वडा-स्तरीय मेयर कप फुटबल प्रतियोगितामा एक खेलाडीमाथि भएको निर्मम कुटपिटले समग्र प्रतियोगिताको व्यवस्थापन नै प्रश्नचिह्नमा पारेको छ।

कञ्चनपुर क्षेत्र नं. १ का प्रतिभाशाली खेलाडी करन पाल हिजो वडा नं. १० र वडा नं. १ बीचको पहिलो सेमिफाइनल खेलको पहिलो हाफतिर अचानक आक्रमणको शिकार बने। ‘हेण्ड’ बलको निर्णयलाई लिएर सुरु भएको विवादपछि वडा नं. १ तर्फका केही समर्थक र खेलाडी नै मैदानमा प्रवेश गर्दै पालमाथि सामूहिक रूपमा कुटपिट गरेको आरोप लगिएको छ।

गम्भीर घाइते पाललाई माया मेट्रो अस्पतालमा भर्ना गरिएको छ। परिवारका अनुसार उनको आँखाको हड्डी र नाकको हड्डी भाँचिएको छ र शल्यक्रिया (अपरेसन) को तयारी भइरहेको छ। खेलमै मैदान छिर्ने हुलदंगा रोक्न नसक्नु र सुरक्षा सुनिश्चित नगरिनु आयोजक समितिको लापरवाही मानिएको छ।

स्थानीय खेल प्रेमीहरूको आरोप छ, “खेलकुद प्रवर्द्धन होइन, बजेट कुम्ल्याउने बहानामा आयोजना गरिएको प्रतियोगिता जस्तो व्यवहार समितिले देखाएको छ।” खेलाडी अस्पतालमा छट्पटाइरहँदा आयोजक समितिले राहत व्यवस्थाबारे कुनै स्पष्टता नदिएको भन्दै पीडित पक्षले गुनासो व्यक्त गरेका छन्।
पछिल्ला वर्षहरूमा बेलौरीमा आयोजना हुने स्थानीय प्रतियोगितामा बारम्बार विवाद, दुव्र्यवहार र कुटपिट घटना दोहोरिन थालेपछि खेलकुद समितिको भूमिका र क्षमता दुवैप्रति प्रश्न उठ्न थालेको खेलप्रेमीहरूको टिप्पणी छ। खेल अनुशासन कायम गर्न नसक्नेहरूबाट खेल सञ्चालनको औचित्य नै समाप्त हुने उनीहरूको तर्क छ।
स्थानीय स्तरमा प्रतिभा विकास गर्ने भनिएको मेयर कप यस्ता घटनापछि उल्टै खेलाडीका लागि भय र त्रासको मैदान बनेको खेलकुद विश्लेषकहरूले बताएका छन्।







