कञ्चनपुरका प्रहरी उपरिक्षक खड्क बहादुर खत्री सम्मानित

महेन्द्रनगर : राष्ट्रिय खेलकुद परिषद्को मूल मन्त्र “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” लाई आत्मसात गर्दै कञ्चनपुरमा सम्पन्न तेस्रो इण्डो–नेपाल अन्तर्राष्ट्रिय कराँते किक–बक्सिङ प्रतियोगिता २०८२ मा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक खड्क बहादुर खत्रीलाई विशेष सम्मान प्रदान गरिएको छ।

जापान कराँते–डो कोशीकाई सितोरियो संघ नेपाल, कञ्चनपुरले भदौ १०, ११ र १२ गते (अगस्ट २६, २७ र २८, २०२५) आयोजना गरेको प्रतियोगितामा एसपी खत्रीले गरेका सुरक्षा, सहयोग र समन्वयलाई उच्च कदर गर्दै संस्थाले ताम्रपत्र प्रदान गरेको हो। सम्मान समारोहका अवसरमा आयोजक संघले खेलकुदको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त गरेको उल्लेख गर्दै, एसपी खत्रीजस्ता व्यक्ति सम्मानित हुँदा खेलाडीहरूको उच्च मनोबल वृद्धि हुने, उनीहरू भविष्यका कर्णधार बन्न प्रेरित हुने र समाजमा फैलिरहेका लागू औषध दुरुपयोग तथा सामाजिक कुरीतिहरूलाई निरुत्साहित गर्ने सकारात्मक वातावरण सिर्जना हुने बताए ।

संस्थाका अनुसार प्रतियोगिताको तीन दिन सफलतापूर्वक सञ्चालनमा प्रहरी प्रशासनको सक्रिय भूमिका निर्णायक रह्यो। सुरक्षा व्यवस्थापन, भीड नियन्त्रण, यातायात समन्वय तथा सम्पूर्ण कार्यक्रमलाई सहज बनाउन खत्रीद्वारा पुऱ्याइएको योगदान प्रशंसनीय रहेको उल्लेख गरियो। सम्मान कार्यक्रममा जिल्ला कराँते संघ कञ्चनपुरका अध्यक्ष श्री दिपेन्द्र बिष्ट, जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुवेर खड्का, नेपाल कराँतेका केन्द्रीय महासचिव तथा कराँते ग्राण्डमास्टर हन्सी अभिषेक सिंह ‘गुरु’, प्रतियोगिता प्राविधिक निर्देशक हन्सी लाल दर्दा, साथै प्रमुख अतिथि पूर्व उपरथी, नेपाल आर्मीका सुरेश कुमार कार्कीको उपस्थिति रहेको थियो।

ताजा समाचार

spot_img