कञ्चनपुर : मनोवैज्ञानिक अलौकिक पद्धतीद्वारा स्वास्थ्य शिविर बाट विभिन्न रोग निको परेको दावी गर्ने गुरु सिमान्त के.सी.कञ्चनपुर आउने भएका छन् । पानी फुकेको भरमा निको पार्ने के.सी.ले विभिन्न रोग निको पारेको दावी गरेका छन् । तारकेश्वर काठमाडौं बस्दै आएका के.सी विरामी निको पार्न समय समयमा विभिन्न स्थानमा जाने गरेका छन् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष केशव बहादुर खत्रीको पहलमा मंसिर २० गते देखि २५ गते सम्म दोधारा चाँदनी नगरपालिका नजिकै रहेको न्यू रानी पाटी पैलेसमा सिमान्त के.सी.ले विभिन्न रोग लागेका विरामीलाई हेर्ने छन् र निको पार्ने विश्वास लिएको वडा अध्यक्ष खत्री बताउछन् । उनले भने ‘मैले पनि आफूलाई शरिरमा आएको समस्या काठमाडौंमा गएर सिमान्त के.सी. गुरुलाई देखाएर पछि मलाई निको भयो त्यसपछि आफुलाई विश्वास लागेर अरुलाई पनि रोग निको होस् भन्ने मनसायले दोधारा चाँदनी बोलाएको हु ।’

विरामीहरुलाई हेर्ने टोकनको रु.५०० लाग्ने अध्यक्ष खत्रीले बताए । उक्त रुपैया गुरु र आउने विरामीहरुको व्यवस्थापनको लागि खर्च गरिने छ भने विपिन्न गरिबहरुलाई निःशुल्क उपचार गरिने वडा अध्यक्ष खत्रीले बताए साथै त्यसको केही रकम वडामा रहेको विपन्न वर्गको लागि खर्च गरिने बताए । त्यसैगरी, दोधारा–चाँदनीस्थित कृषि विकास बैंकका शाखा प्रमुख लालबहादुर कठायतले पनि काठमाडौंमा गुरु के.सी.सँग भेटेर आफू र श्रीमतीको स्वास्थ्यमा सुधार आएको दाबी गरे। “एकपटक उपचार गराउँदा केही राहत मिल्यो, त्यसैले फेरि पनि आफ्ना समस्या लिएर गुरुसँग जाने सोच बनाएको छु,” कठायतले भने।







