गड्डाचौकीमा किशोरकिशोरीलाई प्रविधिको सही प्रयोग तथा मानव बेचबिखन रोकथामबारे अभिमुखीकरण

कञ्चनपुर : भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित श्री सिद्धनाथ अमर माध्यमिक विद्यालयका कक्षा ६ र ७ मा अध्ययनरत ५५ जना विद्यार्थीलाई माइती नेपाल कञ्चनपुरले मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नारासहित सञ्चालन गरिएको कार्यक्रम लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजना गरिएको हो।

सिमा क्षेत्रका किशोरकिशोरीलाई लक्षित गरी प्रशिक्षण प्रदान गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्लो समय मानव बेचबिखनको स्वरूप भयावह बन्दै गएकाले विशेषगरी गरिब, पिछडिएका तथा सिमावर्ती क्षेत्रमा बसोबास गर्ने समुदायका महिला तथा किशोरकिशोरी बढी जोखिममा परिरहेका छन्। “सम्भावित जोखिमबाट बचाउन बेलैमा उनीहरूलाई सचेत गराउनु अत्यावश्यक छ,” संयोजक भट्टले बताउनुभयो।

उहाँका अनुसार अशिक्षा, बेरोजगारी, प्रलोभन, देखासिकी, झुट्टा मायाप्रेम, मोबाइल तथा सामाजिक सञ्जालको दुरुपयोग मानव बेचबिखनका प्रमुख कारण हुन्। घरेलु हिंसा तथा लैङ्गिक विभेदका कारण पनि महिलाहरू सजिलै दलालको जालमा फस्ने गरेको उल्लेख गर्दै भट्टले खुला सिमाका कारण कञ्चनपुर जिल्ला उच्च जोखिममा रहेको बताउनुभयो। यौन शोषण, वेश्यावृत्ति, सर्कसमा काम लगाउने, बन्धुवा मजदुरी गराउने तथा शरीरका अंग झिक्ने जस्ता उद्देश्यले मानव बेचबिखन हुने गरेको उहाँले बताउनुभयो। साथै, परिवारका सदस्य वा आफन्त स्वयं संलग्न हुने घटना बढ्दै जानुले नियन्त्रण कार्यलाई चुनौतीपूर्ण बनाइरहेको उहाँको भनाइ छ।

कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसारको परिभाषा, बेचबिखनका कारण, बदलिँदो स्वरूप, सम्भावित जोखिम, दलालले अपनाउने चालचलन तथा प्रचलित कानुनी प्रावधानबारे विस्तृत जानकारी गराइयो। प्रशिक्षणमा सहभागी विद्यार्थीहरूले जोखिममा परेका किशोरकिशोरीलाई लक्षित गरी सचेतना कार्यक्रम सञ्चालन गरेकोमा माइती नेपालप्रति आभार व्यक्त गर्दै वरपर कहीँ मानव बेचबिखन वा हिंसासम्बन्धी घटना देखेमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउने प्रतिबद्धता जनाए।

ताजा समाचार

spot_img