विभाजन उन्मुख कांग्रेसलाई रमेश लेखककाे मध्यमार्गी प्रस्तावले डाेर्यायाे महाधिवेशनतर्फ

काठमाडौं : नेपाली कांग्रेसमा १५ औं महाधिवेशन आगामी पुस मसान्तसम्म गर्ने गरी कार्यतालिका ल्याउने सहमति जुटेकाे छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य रमेश लेखकले डेढ महिनाअघि प्रस्तुत गरेकाे महाधिवेशन सम्बन्धि प्रस्तावकाे वरिपरि नै माेटामाेटी सहमति जुटेकाे हाे । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले लेखककाे प्रस्तावकाे वरिपरि सहमति खाेज्न सुझाएपछि पार्टीमा देखिएकाे महाधिवेशन सम्बन्धि विवादले निकास पाउने भएको छ । गत असाेज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठक आगामी फागुन २१ का लागि निर्धारित प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि भन्नेमै अल्झियाे । महामन्त्रीहरुले निर्वाचनअघि कुनै पनि नेतृत्व परिवर्तन गरेर चुनावमा जाने पक्षमा उभिँदा संस्थापन पक्षका कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, प्रकाशशरण महत, एनपी साउद लगायतका नेताहरु कुनै पनि हालतमा चुनावअघि महाधिवेशन गर्न नहुने पक्षका थिए ।

त्यही अनुसार निर्वाचनअघि महाधिवेशन चाहने पक्षले विशेष महाधिवेशनकाे अस्त्र फ्याक्दा अर्काे पक्ष निर्वाचनपछि नियमित महाधिवेशनभन्दै प्रतिवाद उत्रियाे । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माकाे आह्वानमा थालिएको विशेष महाधिवेशनकाे प्रस्ताव असाेज २९ गते पार्टी कार्यालयमा दर्ता भयाे । त्यसपछि विभिन्न हाेटेलदेखि राष्ट्रिय सभागृहसम्म विशेष महाधिवेशन पक्षधरले दबाबमुलक भेला राखे । त्यसकाे काउन्टरमा सात भाइकाे नामले परिचित नेताहरुकाे अगुवाइमा नियमित महाधिवेशन भन्दै भेला र छलफल भए । उक्त गतिविधिले पार्टी विभाजन हुने हाेकी भन्ने कांग्रेसजनमा चिन्ता थियाे । दुबै पक्ष आराेप- प्रत्याराेपमा उत्रिँदा पार्टीमा विभाजनकाे रेखा काेरिरँदा नेता लेखक मध्यमार्गी बाटाेमा सबैलाई उभ्याउन तल्लिन थिए । आमाकाे काजकिरिया सकेर राजनीतिक गतिविधिमा सक्रिय भएपछि लेखककाे ध्यान र ध्येय पार्टीमा उत्पन्न विवादकाे निकासमा केन्द्रित रह्याे । असाेज २२ मा सभापति देउवासँगकाे भेटपछि नेताहरूसँग आन्तरिक छलफल थालेका लेखकले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै १५ औं महाधिवेशनकाे व्यवहारिक कार्यतालिका निर्माणकाे काम थालेका थिए ।

उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिकाे जिम्मेवारी सुम्पिएर सभापति देउवा उपचारका लागि सिंगापुर जाँदा नियमित महाधिवेशनकाे वातावरण बनाएर निकास खाेज्न लेखकले नेताहरूसँग भेटघाट बाक्लो पारे । कार्यवाहक सभापति खड्का, नेता शेखर काेइरला, महामन्त्रीद्वय थापा र शर्माका साथै विशेष महाधिवेशन र निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने मत राख्ने नेताहरू लेखकले निरन्तर भेटवार्ता गरे । अन्ततः कार्तिक २६ गतेकाे केन्द्रीय कार्यसमिति बैठकमा आफूले राखेकाे औपचारिक प्रस्तावमा सबैलाई उभ्याएका छन् । तर, सुरुमा संस्थापन पक्षभित्र पुसभित्र नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा लेखक एक्लाे थिए । पार्टीलाई विभाजनको जोखिमबाट बचाउन पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने लेखककाे प्रस्ताव थियाे । “विधानले चालीस प्रतिशतले विशेष अधिवेशन बोलाउने भनेको छ । तर यसको कार्यविधि र गर्न पाउने क्षेत्राधिकारको विषय अन्योल छ,’ लेखकले भने,‘विशेष महाधिवेशनमा जाने भनेको कांग्रेस निस्किने बाटाे नभएको जंगलभित्र प्रवेश गर्नु हो । सबले आ-आफ्नो बाटो देखाउँछन् ।

त्यसले पार्टी विभाजन हुन्छ,’ लेखककाे मत थियाे। लेखककाे प्रस्ताव संस्थापनपक्षभित्रकै सात पूर्व पदाधिकारीले नमानेका कारण रोकिएको थियो । लेखककाे प्रस्ताव अनुसार नै महाधिवेशनको कार्यतालिका तोकेर क्रियाशीलको काममा लाग्ने सहमति भएको छ । विधान संशोधन र महाधिवेशनका लागि विभिन्न समिति निर्माण गरिने भएकाे छ । पार्टीका एक पदाधिकाले भने, “गतअसाेज अन्तिम साता रमेश लेखकले राख्नु भएको महाधिवेशन सम्बन्धि प्रस्ताव वरिपरि नै सहमति हुन पुगेकाे छ । उहाँको प्रस्तावमा सुरुमा संस्थापन पक्षबाट विराेध र अर्काे पक्षबाट अविश्वास गरिएको थियाे । तर, अहिले आएर उहाँकाे प्रस्ताव नै मध्यमार्गी बाटाे बन्न पुग्याे । पुसभित्रै महाधिवेशन गर्ने गरि कार्यतालिका ल्याउने माेडामाेटी सहमति भएको छ। ” विभाजनउन्मुख कांग्रेसलाई लेखककाे प्रस्तावले महाधिवेशनतर्फ डाेर्याएकाे ती पदाधिकारीकाे बुझाइछ ।

ताजा समाचार

spot_img