बादी समुदायको संकटमा मादल बनाउने पेसा, रोजगारीको लागी भारत जान बाध्य

दोधारा । समाजमा बढ्दै गएको आधुनिकताका नाममा पछिल्लो समयमा विभिन्न समुदायका पुख्र्यौली पेसाहरु नै लोप हुन थालेका छन् । परम्परागत सीप बिक्न छाडेपछि पुख्र्यौली पेसा संगै विभिन्न ठाँउका मौलिकता नै संकटमा पर्न थालेको देखिएको हो । सोही क्रममा समाजमा अत्याधुनिक बाजागाजाको प्रचलन बढ्दै जाँदा परम्परागत बाजाहरु मादल, दमाहाको प्रयोग घट्न थालेपछि दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका बादी समुदाय समस्यामा पर्दै आएका छन् । पुख्र्यौली पेसाहरु लोप हुन थालेपछि बादी समुदायका युवाहरु भारतको बिभिन्न स्थानमा ज्यालादारी गर्न बाध्य भएको रेशम बादीले बताउनुभयो । उहाँले आफूले लामो समय देखि मादल, दमाहा र काठका ठेकी बनाएरै आफ्नो जीविकोपार्जन गर्दै आएकोमा पछिल्लो समयमा आएर बाजाको बिक्रिनै चाड पर्व बाहेक अन्य समयमा बिक्री बितरण नहुने गरेकोले पुख्र्यौली पेशानै संकटमा परेको बताउनुभयो ।

अहिले बजारमा नयाँ नयाँ आधुनिक प्रविधिका बाजा गाजा सहित मादल पनि हरेक पसलमा पाउन थालेपछि गाँउ घरमा बनाईएका मादलको माँग नहुदा मादल बनाउने पेसा बन्द गर्ने स्थितिमा पुगेको रेशम बादीले बताउनुभएको छ् । हिजोआज बनबाट मादल बनाउन काठ नपाईने, मादल बनाउने काठ नभएपछि काम नै बन्द भएको उहाँले बताउनुभएको छ् । केही वर्ष अघि सम्म परम्परागत मादल बनाउने पेसाबाट राम्रो आम्दानी हुने गरेकोले घर खर्च चलाउन सहज भए पनि अहिले मादल, दमाहा बिक्री नहुदा घर खर्च चलाउन धौ–धौ परेको बादी घरपरिवारको भनाई छ् ।

पुराना पुस्ताले दमाहा, मादल बनाएर बादी समुदायको पेसालाई धान्दै आएपनि अहिले आएर दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा १३ घरपरिवार आफ्नो पेसालाई छाडेर भारतको बिभिन्न शहरहरुमा ज्याला मजुरी गर्ने गरेको बताईएको छ् ।

ताजा समाचार