कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा रहेको रेडियन्ट माध्यमिक विद्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाईएको छ । दिवसको अवसरमा विद्यार्थीहरुले नेपालको नक्सा र नेपालको राष्ट्रिय झण्डा बनाएर देशभक्तीका गीत गाउँदै संविधान दिवस मनाएका छन् । कार्यक्रममा विद्यार्थीहरुले संविधान देशको मूल कानून भएको हुँदा सबै जनताले संविधानको पालना गर्नुपर्ने बताउनुका साथै संविधानको बारेमा आफुले थाहा पाएका विषयवस्तुबारे एक आपसमा छलफल समेत गरेका थिए ।

संविधान दिवसको अवसरमा विद्यालयका शिक्षक लोकेन्द्र भट्टले वर्तमान नेपालको संविधानको बारेमा चर्चा गर्नुका साथै विद्यार्थीहरुलाई नेपालमा संवैधानिक विकासक्रम, संविधानको महत्व र आवश्यकताको बारेमा जानकारी दिनुभएको थियो ।कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सूर्य बहादुर चन्दले संविधानले नागरिकलाई अधिकार र कर्तव्य दिएकोले यो दिवस स्वतन्त्रता, समानता र राष्ट्रिय एकताको प्रतिकको रुपमा मनाउँदै आएको बताउनुभयो ।

साथै उहाँले विद्यार्थीहरुलाई संविधानको बारेमा ज्ञान दिने उद्देश्यले विद्यालयमा संविधान दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको र यस्ता कार्यक्रमहरुले आगामी दिनमा विद्यार्थीहरुलाई देशको संविधान र कानून प्रति सजक र जागरुक बनाउनुका साथै देशको उन्नतीमा योगदान पुर्याउन सक्ने नागरिक बन्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

