कञ्चनपुर : सुदूरपश्चिम पैरवी सञ्जालले शनिबार गृहमन्त्री रमेश लेखकलाई १६ बुँदे ज्ञापनपत्र बुझाएको छ। निर्माण व्यवसायी संघको १५औँ अधिवेशन उद्घाटनका लागि दुई दिने कञ्चनपुर आएका मन्त्री लेखकलाई सञ्जालकी महासचिव सिला रैकाले ज्ञापनपत्र हस्तान्तरण गरेकी हुन्।

ज्ञापनपत्रमा जलवायु परिवर्तनका प्रभाव न्यूनिकरण र अनुकूलनका लागि नीतिगत, संरचनात्मक तथा व्यवहारिक सुधारका मागहरू समेटिएका छन्। सञ्जालले दिगो विकास लक्ष्य नं. १३ (जलवायु कार्य) र लक्ष्य नं. ५ (लैंगिक समानता) सँग सम्बन्धित समस्याहरू समाधान गर्न आग्रह गरेको छ।

मुख्य मागहरूमा जलवायु परिवर्तनका लागि स्पष्ट नीति तथा कार्यविधि निर्माण, स्थानीय तहमा विषयगत शाखा स्थापना, महिलामैत्री विपद् प्रतिकार्य व्यवस्था, गर्भवती र विपन्न महिलाका लागि विशेष सहयोग, वैकल्पिक रोजगारी सिर्जना, विद्युतिय सवारीसाधन तथा नवीकरणीय उर्जा प्रवर्द्धन, वन–जंगलको संरक्षण, नदी उत्खनन नियन्त्रण, प्लास्टिक विस्थापन, र बजेटमा जलवायु परिवर्तन शीर्षक छुट्याउने व्यवस्था रहेका छन्।

सञ्जालले जलवायु न्याय र सामाजिक न्यायलाई जोडेर महिला अधिकारसम्बन्धी नीति बनाउन सरकारसँग आग्रह गरेको छ।
