कञ्चनपुर : भीमदत्त नगरपालिका–१८ स्थित निङ्गलाशैनी योग साधना केन्द्रले शनिबार दोस्रो साधारण सभा तथा वार्षिकोत्सव सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता केन्द्रका संयोजक महेश चन्दले गरे भने प्रमुख अतिथि भीनपा–१८ का वडा अध्यक्ष रबिन्द्र देवकोटा रहेका थिए। कार्यक्रम सञ्चालन सचिव रामदत्त पन्तले गरेका थिए।

साधारण सभामा पतञ्जलि योग समिति कञ्चनपुरका अध्यक्ष दया कृष्ण जोशी, उपाध्यक्ष ई. धनसिंह वडाला, महासचिव प्रेमसिंह भाट, संगठन सचिव पवनकुमार पनेरु, कोषाध्यक्ष सम्शेरबहादुर चन्द, प्रशिक्षक विभाग प्रमुख केशवराज पन्त, सल्लाहकार अधिवक्ता पूर्णबहादुर चन्द, महिला पतञ्जलि योग समितिकी अध्यक्ष कमला पाण्डेय, उपाध्यक्ष भावना लगायत विभिन्न योग प्रशिक्षक तथा साधकहरूको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि देवकोटाले हाल युवामध्ये आत्महत्या, नशापान तथा अन्य कुलतको प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै, त्यसको रोकथामका लागि युवालाई योग साधनामा सहभागी गराउन आवश्यक रहेको बताए। उनका अनुसार, योग साधनाले मानसिक तथा शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले यसको विस्तारमा जोड दिनुपर्छ।

अध्यक्ष जोशीले जिल्लाका विभिन्न स्थानमा योग साधना केन्द्र स्थापना गरी धेरै साधकलाई रोगमुक्त बनाउने तथा प्रशिक्षक उत्पादन गर्ने कार्य भइरहेको जानकारी दिए। उनले युवालाई योगतर्फ आकर्षित गर्न समाजका सबै तह र तप्काबाट सहयोग आवश्यक रहेकोमा जोड दिए। सो अवसरमा निङ्गलाशैनी योग साधना केन्द्रलाई सहयोग गर्ने विभिन्न योग साधना केन्द्र र साधकहरूलाई सम्मानपत्र तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
