कञ्चनपुर – महेन्द्रनगर जेसीजले आगामी असोज ३ र ४ गते हुने नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलनको लोगो सार्वजनिक गरेको छ । महेन्द्रनगर जेसीजको आतिथ्यमा हुने सम्मेलनका लागि विहीबार आयोजित पत्रकार सम्मेलन मार्फत लोगो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा सम्मेलन निर्देशक तथा महेन्द्रनगर जेसीज वर्ष २००६ का अध्यक्ष कृष्णप्रसाद पाठकको अध्यक्षता र जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्य रहेको थियो। सार्वजनिक गरिएको लोगोमा सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय स्थलका चित्र समेटिएका छन् । जेसीज अध्यक्ष राजेन्द्रप्रसाद अवस्थीका अनुसार लोगोमा अपि हिमाल, सैपाल हिमाल, कर्णाली पुल, कञ्चनपुरमा रहेको एशियाकै दोस्रो लामो झोलुङ्गे पुल र नेपालमै सबैभन्दा धेरै पाइने बाह्रसिङ्गाको चित्र समावेश गरिएको छ । उनले भने, “यहाँको पर्यटन प्रवद्र्धनका लागि प्रसिद्ध स्थलहरू लोगोमा राखेका हौं।”

जिल्ला समन्वय समिति प्रमुख बोहराले सम्मेलनलाई पर्यटन, संस्कृति र परम्पराको प्रचार–प्रसारको उत्कृष्ट अवसरका रूपमा लिने बताए। “हाम्रो समृद्धिको आधार पर्यटन हो। दुई विशाल मित्रराष्ट्र नजिकै भएकाले पर्यटक भित्र्याउन सकिन्छ भने यस क्षेत्रको मात्र नभई देशकै समृद्धिमा टेवा पुग्छ,” उनले भने। सम्मेलन निर्देशक पाठकका अनुसार नारायणदेखि कञ्चनपुरसम्मका करिब ५००–६०० जेसीज सहभागी हुने अनुमान गरिएको छ। उनका अनुसार यसले सुदूरपश्चिमको पर्यटन विकाससँगै स्थानीय व्यापार–व्यवसायमा समेत सकारात्मक प्रभाव पार्नेछ।

