कञ्चनपुर – महेन्द्रनगरका युवा निर्माण व्यवसायी बृजकिशोर चन्दले यही भदौ २१ गते हुने निर्माण व्यवसायी संघ कञ्चनपुरको १५औं कार्यसमिति निर्वाचनमा सचिव पदका लागि उम्मेदवारी दिएका छन्। स्नातकोत्तर (एमबिए) अध्ययन सम्पन्न गरेपछि न राजधानी बसाइँ सरे, न विदेशिएका चन्दले आफ्नै मातृभूमि सुदूरपश्चिम प्रदेश, कञ्चनपुरमै निर्माण व्यवसायलाई आफ्नो पेशा बनाएका छन्। एक दशकदेखि यस क्षेत्रमा सक्रिय उनी भीमदत्त नगरपालिका–३ निवासी र शिवशंकर डेभलपर्सका सञ्चालक हुन्।

स्थानीयदेखि जिल्ला बाहिरसम्मका ठेक्का परियोजनाहरू समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्दै आएका चन्दलाई पालिका, सरकारी तथा सार्वजनिक निकायबाट सम्मान र पुरस्कारसमेत प्राप्त भएको छ। यसअघि संघको सदस्य रहिसकेका चन्दले अब पदाधिकारी बनेर संघलाई पारदर्शी बनाउने, सरकारी निकाय र व्यवसायीबीच समन्वयको पुल निर्माण गर्ने, र निर्माण क्षेत्रलाई स्वच्छ, निष्पक्ष तथा दिगो विकासमुखी बनाउने संकल्प व्यक्त गरेका छन्।

निरञ्जन प्रसाद भट्टको प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका चन्द मतदातासँग भेटघाट गर्दै आफूसहित टिमलाई विजयी गराउन अपिल गरिरहेका छन्। “हामीभन्दा ज्येष्ठ अग्रज निर्माण व्यवसायीको अनुभव र सुझावका आधारमा अघि बढ्छु,” चन्दले भने, “युवाहरूलाई रहरको शहर होइन, आफ्नै मातृभूमिमा पनि सम्भावना छ भन्ने प्रेरणा दिन चाहन्छु।”

