कञ्चनपुर:आगामी भदौँ २१ गते हुने निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा ‘क’ वर्गका ठेकेदार तथा शन्निदेव निर्माण सेवा प्रालिका सञ्चालक देवीदत्त भट्ट महासचिव पदमा उम्मेदवारी दिएका छन्।

झन्डै अढाई दशकदेखि निर्माण क्षेत्रमा सक्रिय भट्ट संघमा सदस्य र संगठन प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। २५ वर्षदेखि निरन्तर व्यवसायमा रहेका उनले बाँके, बर्दिया, पोखरा, कालिकोट, जुम्लालगायतका जिल्लामा सम्झौताअनुसारका निर्माण कार्य समयमै सम्पन्न गरेका छन्। उत्कृष्ट कामका लागि सरकारी तथा गैरसरकारी निकायबाट सम्मानित भट्टको कम्पनी ‘क’ वर्गको उत्कृष्ट ठेकेदारको सूचीमा पर्छ।

महासचिवका उम्मेदवार भट्टले आफू कुनै राजनीतिक दलसँग आवद्ध नभएको स्पष्ट गर्दै विशुद्ध निर्माण व्यवसायीका हैसियतले सबै साना–ठूला व्यवसायीको हकहितमा काम गर्ने प्रतिज्ञा गरेका छन्। प्रत्यक्ष १५–२० जना र अप्रत्यक्ष डेढ सय जनालाई रोजगारी प्रदान गर्दै आएका उनले निर्माण व्यवसायलाई स्वच्छ, निष्पक्ष र सम्मानित बनाउन तथा युवालाई स्वदेशमै रोजगारी दिलाउने केन्द्रका रूपमा संघलाई विकास गर्ने संकल्प व्यक्त गरेका छन्।

“निर्माण क्षेत्रमा देखिएका भुक्तानीसम्बन्धी समस्या समाधान, काम सम्पन्न गरेपछि पनि भुक्तानी नदिने वा अनावश्यक झन्झट दिने प्रवृत्ति अन्त्यका लागि संघ रोजेको हुँ,” भट्टले भने, “अन्यायमा परेका साना व्यवसायीको हकहितका लागि तथा संस्थागत वृद्धि र विकासका लागि काम गर्ने मेरो प्राथमिकता हुनेछ।” भट्ट पुष्पराज अवस्थी प्यानलबाट प्रतिस्पर्धामा छन् र उनले आम निर्माण व्यवसायीलाई सहयोग र समर्थनका लागि अपिल गरेका छन्।
