दोधारा । लगातार वर्षा पछि जलमग्न दोधारा चाँदनीको बाढी ग्रस्त क्षेत्रको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु सहितको एक टोलीले अनुगमन गरेको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको आग्रहमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल सहितको टोलीले लगातार वर्षा सहित जगबुडा नदीमा आएको बाढीले क्षती बनाएको पक्की तटबन्ध, बिस्तापित घरपरिवार संग भेट गरेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले अनुगमनको क्रममा बोल्दै सुन्दरनगर लगाएत बाढीले क्षती बनाएको तटबन्धको वर्षायाम सकिए लगत्तै मर्मत संग नयाँ तटबन्ध निमार्ण कार्य अघि बढाउन पहल गर्ने बताउनुभएको छ् ।

टोलीले दोधारा चाँदनी नगरपालिका– ३, पटरा खल्ला बस्ती, वडा नं. ७ र ८ को रामपुरे टापु, सुन्दरनगर, कुतियाकवर लगाएत बस्ती र बाढीपिडितहरुको अवस्था बुझेको हो । अहिले सबैको सहयोगबाट अस्थायीरुपमा बोरामा माटो भरेर नदीको वहावलाई रोक्ने प्रयास भईरहेको मेयर लिम्बुले बताउनुभयो । आज बिहान अचानक जगबुडा नदीमा पानीको वहाव तिब्र भए संगै दोधारा चाँदनी नगरपालिकाको पटरा खल्ला बस्ती, सुन्दरनगर, रामपुरे टापु, अठार नम्वर पिल्लर बस्तीमा रहेको पक्की तटबन्ध नदीले फुटाएपछि बस्तीमा नदीमा पानी पसेर स्थानियहरुको घरहरु डुवानमा परेको हो ।

बिस्तापित भएका घरपरिवारलाई नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगाएत स्थानिय स्तरमा गठन भएका उद्धार टोलीद्धारा सुरक्षित स्थानमा सार्ने काम भएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिकाको वडा नं. पटरा खल्ला बस्ती, कञ्चनभोज, सुन्दरनगर, अठार नम्वर पिल्लर बस्ती, शान्ती टोल, कुतियाकवर बस्ती लगाएत झण्डै १ सय ५० घरपरिवार बिस्तापित भई बिद्यालय, सुरक्षित आवास, आफन्तको शरणमा बसेका छन् ।
