महेन्द्रनगर: कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिकामा सम्पन्न ८औं संस्करण बेलडाँडी खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि झिलमिला युवा समाज ‘बि’ ले हात पारेको छ ।

शनिबार भएको रोमाञ्चक फाइनल खेलमा झिलमिला युवा समाज ‘बि’ ले दोधारा केएफसी क्लबलाई ०-२ गोल अन्तरले हराउँदै उपाधि आफ्नो पक्षमा पारेको हो । हजारौँ दर्शक खचाखच भरिएको गौरा महेश्वरी मन्दिर कालिका उत्तरपट्टीको खेल मैदानमा झिलमिलाले पहिलो हाफमा १ गोल गर्दै अग्रता बनाएको थियो। लगातार दोस्रो हाफमा थप अर्को गोल गर्दै जित सुनिश्चित गरेको थियो ।

प्रतियोगिताको विजेता झिलमिला युवा समाज ‘बि’ ले नगद ८२ हजार रुपैयाँसहित ट्रफी र पदक प्राप्त गर्यो भने उपविजेता दोधारा केएफसी क्लबले नगद ४५ हजार रुपैयाँसहित ट्रफी र पदकमा चित्त बुझायो । गौराको अवसर पारेर अल स्टार युवा क्लबले भदौ ७ गतेदेखि सुरु गरेको प्रतियोगिता भदौ १४ गते समापन भएको छ । प्रतियोगितामा आयोजकका ३ सहित १६ टिमले सहभागिता जनाएको आयोजक अल स्टार युवा क्लबका उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक मनोज खडायतले जानकारी दिए ।

क्लबका सल्लाहकार संयोजक एवम् सरस्वती माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षले स्वागत मन्तव्य राख्दै क्लबले गरेको कार्यको सबैले मुल्यांकन गर्दै आगामी दिनमा थप नयाँ तरिकाले अगाडि बढ्ने कुरामा विशेष जोड दिए।
विजेता टिमलाई पुरस्कार वितरण गर्दै बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले ग्रामिण भेगमा खेलकुदको विकासका लागि यस्ता प्रतियोगिता प्रेरणादायी हुने बताए । गाउँपालिका उपाध्यक्ष शान्ति नाथले पालिकाबाट खेलकुदका लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाइन् । वडा नं. १ का वडाध्यक्ष गजबहादुर बिष्टले आफ्नै वडामा भएको प्रतियोगिताले बेलडाँडी खेलमय बनेको बताए । वडा नं. ५ का वडाध्यक्ष इन्द्र बहादुर खड्काले खेलकुद प्रवर्द्धनका लागि आवश्यक योजना ल्याइने प्रतिबद्धता जनाए।
आयोजक अल स्टार युवा क्लबका अध्यक्ष लोक बहादुर बलायरले ग्रामीण भेगमा खेलाडी उत्पादनदेखि खेलकुद विकाससम्म योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले खेलमैदानको व्यवस्थापनमा पनि सरोकारवालाको ध्यानाकर्षण गराए । क्लबका सचिव तथा रेफ्री विकास सिंह महताले गौरासँगै हुने प्रतियोगिताले फुटबलको स्तर र लोकप्रियता बढाएको बताए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) कञ्चनपुरका महासचिव नितेश रावलले ग्रामीण भेगमै राम्रो खेलाडी उत्पादन हुने भएकाले प्रतियोगिताले राष्ट्रिय फुटबललाई समेत टेवा पुर्याउने उल्लेख गरे । अम्पायरको भूमिकामा एन्फा रेफ्री मानबहादुर तामाङ, नारायण प्रसाद जोशी र विकास सिंह महता रहे ।
हरेक वर्ष गौरापर्वको पूर्वसन्ध्यामा आयोजना हुने यो प्रतियोगिताले बेलडाँडीलाई खेलकुदको उत्सवमय वातावरणले रङ्ग्याउने परम्परा बनाएको खेल संयोजक मनोज खडायतको भनाइ छ । झिलमिलाले २०८० सालदेखि लगातार उपाधि हात पारिरहेको छ । प्रतियोगिताको विभिन्न उत्कृष्ट विधाका खेलाडीलाई समेत पुरस्कार वितरण गरेको थियो। जसमा उत्कृष्ट गोलरक्षक झिलमिलाका कुम्ब देउवा, दोधारा के एफ सिका उत्कृष्ट डिफेन्डर दिपेन सिंह, मिडफिल्डर संगम सरु मगर, प्रतियोगिताको सर्वाधिक गोलकर्ता झिलमिलाका धिरेन्द्र बहादुर शाह, उदयमान खेलाडी अल स्टार युवा क्लबका उमेश खडायत र प्रतियोगिता भरिको उत्कृष्ट खेलाडी झिलमिला युवा समाजका ज्ञानेन्द्र जोशी घोषित भए। उनले मेडल र प्रमाणपत्र समेत पाएका छन्।
