सके सफा गरौँ, नसके फोहोर नगरौँ” अभियान

ईको पार्कमा सरसफाईसँगै संस्कारको आवश्यकता माथि जोड

कञ्चनपुर : भीमदत्त नगरपालिका–१८ मा अवस्थित ईको पार्क क्षेत्रमा सरसफाई अभियानसँगै फोहोर व्यवस्थापनका लागि डस्टबिनहरू राखिएका छन्। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), डीसीए र भीमदत्त नगरपालिकाको सहकार्यमा पावर अफ यूथ कञ्चनपुर, उत्थानशील युवा सञ्जाल भीमदत्त र स्थानीयवासीहरूको सक्रिय सहभागितामा सरसफाई गरिएको हो। सरसफाई अभियानमार्फत पार्कलाई सफा राख्ने र फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यका साथ डस्टबिनहरू स्थापना गरिएको हो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बजारको मुटुमा रहेको ईको पार्कको संरक्षण र संवर्द्धनका लागि निरन्तर वृक्षारोपण तथा सरसफाई कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँका अनुसार पार्क परिसरमा प्लास्टिकजन्य तथा अन्य फोहोर व्यवस्थापनका लागि डस्टबिनहरू राखिएका छन्। साथै, “ग्रीन सिटी, क्लीन सिटी” अभियानअन्तर्गत उत्थानशील युवा सञ्जाल र पावर अफ यूथले समेत सरसफाई कार्यक्रम सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो।

पावर अफ यूथ कञ्चनपुरका अध्यक्ष प्रकृती भट्टले विगतदेखि सरसफाई अभियानसँगै मानवीय तथा रचनात्मक गतिविधिहरू सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँका अनुसार लामो समयदेखि निरन्तर सरसफाई अभियान चलाइँदा पनि विशेष परिवर्तन नदेखिएको अनुभव गरिएको छ। उहाँले सोच परिवर्तन नगरी व्यवहारिक सुधार सम्भव नहुने उल्लेख गर्दै अबदेखि फोहोर सफा गर्नुभन्दा पनि फोहोर उत्पन्न हुने स्रोतमै नियन्त्रण गर्ने पहल गरिने जानकारी दिनुभयो।

पावर अफ यूथ कञ्चनपुरका सदस्य हेमराज भट्टले “सके सफा गरौँ, नसके फोहोर नगरौँ” भन्ने नाराका साथ काम गर्दै आएको बताउनुभयो। उहाँले सरसफाई अभियान र फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन डस्टबीन स्थापना कार्यमा सहयोग गरेकोमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीएप्रति आभार व्यक्त गर्नुभयो। साथै, उहाँले स्थानीयलाई जथाभावी फोहोर नफाल्न आग्रह समेत गर्नुभयो।

भीमदत्त नगरपालिका–१८ का स्थानीय बासिन्दा माधव भट्टले घर–आँगन सफा राखेझैँ नगरलाई पनि सफा राख्न सबैले जिम्मेवारीपूर्वक आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले फोहोर नफाल्ने संस्कार बसाल्न सके सरसफाई कार्यक्रमको आवश्यकता नै नपर्ने उल्लेख गर्नुभयो।

यस सरसफाई अभियानले समुदायमा फोहोर नफाल्ने संस्कार र जिम्मेवार वातावरणीय व्यवहारको महत्त्वलाई उजागर गरेको छ। अभियानमा सहभागी संघसंस्था र स्थानीयवासीको सक्रियता, डस्टबिनको स्थापना, र सचेतनाले पार्कलाई सफा राख्ने मात्र नभई, भीमदत्त नगरलाई हरित र स्वच्छ राख्ने संस्कारको समेत प्रवर्द्धन गरेको छ। यस प्रकारका पहलहरूले “सके सफा गरौँ, नसके फोहोर नगरौँ” नारासँगै व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ।

ताजा समाचार