पप्पु गुरुङ्ग, दोधारा । भीमदत्त नगरपालिका–१८ मा अवस्थित ईको पार्क क्षेत्रमा सरसफाई अभियान संगै फोहोर व्यवस्थापनका लागि डस्टबिनहरु राखिएका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीएको सहकार्यमा पावर अफ यूथ कञ्चनपुर, उत्थानशील युवा सञ्जाल भीमदत्त र स्थानीयवासीहरुको सक्रिय सहभागितामा सरसफाई गरिएको हो । सरसफाई अभियान मार्फत पार्कलाई सफा राख्ने र फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यका साथ डस्टबिनहरु स्थापना गरिएको हो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बजारको मुटुमा रहेको ईको पार्कको संरक्षण र संवद्र्धनका लागि निरन्तर वृक्षारोपण तथा सरसफाई कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँका अनुसार पार्क परिसरमा प्लास्टिकजन्य तथा अन्य फोहोर व्यवस्थापनका लागि डस्टबिनहरु राखिएका छन् ।


साथै, ‘ग्रीन सिटी, क्लीन सिटी’ अभियान अन्तर्गत उत्थानशील युवा सञ्जाल र पावर अफ यूथले समेत सरसफाई कार्यक्रम सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो । पावर अफ यूथ कञ्चनपुरका अध्यक्ष प्रकृती भट्टले विगत देखि सरसफाई अभियान संगै मानवीय तथा रचनात्मक गतिविधिहरु सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँका अनुसार लामो समय देखि निरन्तर सरसफाई अभियान चलाईदा पनि विशेष परिवर्तन नदेखिएको अनुभव गरिएको छ् । उहाँले सोच परिवर्तन नगरी व्यवहारिक सुधार सम्भव नहुने उल्लेख गर्दै अब देखि फोहोर सफा गर्नु भन्दा पनि फोहोर उत्पन्न हुने स्रोतमै नियन्त्रण गर्ने पहल गरिने जानकारी दिनुभयो ।


पावर अफ यूथ कञ्चनपुरका सदस्य हेमराज भट्टले ‘सके सफा गरौं, नसके फोहोर नगरौं’ भन्ने नाराका साथ काम गर्दै आएको बताउनुभयो । उहाँले सरसफाई अभियान र फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन डस्टबीन स्थापना कार्यमा सहयोग गरेकोमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीएप्रति आभार व्यक्त गर्नुभयो । साथै, उहाँले स्थानीयलाई जथाभावी फोहोर नफाल्न आग्रह समेत गर्नुभयो । भीमदत्त नगरपालिका–१८ का स्थानीय बासिन्दा माधव भट्टले घर–आागन सफा राखेझैं नगरलाई पनि सफा राख्न सबैले जिम्मेवारीपूर्वक आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले फोहोर नफाल्ने संस्कार बसाल्न सके सरसफाई कार्यक्रमको आवश्यकता नै नपर्ने उल्लेख गर्नुभयो । यस सरसफाई अभियानले समुदायमा फोहोर नफाल्ने संस्कार र जिम्मेवार वातावरणीय व्यवहारको महत्वलाई उजागर गरेको छ् ।
अभियानमा सहभागी संघ संस्था र स्थानीयवासीको सक्रियता, डस्टबिनको स्थापना, र सचेतनाले पार्कलाई सफा राख्ने मात्र नभई, भीमदत्त नगरलाई हरित र स्वच्छ राख्ने संस्कारको समेत प्रवद्र्धन गरेको छ् ।
यस प्रकारका पहलहरुले ‘सके सफा गरौं, नसके फोहोर नगरौं’ नारा संगै व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ् ।




