जगन्नाथ आत्रेय /कञ्चनपुर: सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत भाषा, साहित्य तथा संस्कृति अनुसन्धान केन्द्रद्वारा गौरा पर्व विशेष विचार गोष्ठी तथा सांस्कृतिक प्रदर्शन सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता अनुसन्धान केन्द्रका संयोजक प्रा. डा. हरिश्चन्द्र भट्टले गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि सर्वोच्च अदालतका न्यायाधीश माननीय नित्यानन्द पाण्डेय, विशिष्ट अतिथि उपकुलपति प्रा. डा. हेमराज पन्त तथा अतिथि रजिस्ट्रार विनोद प्रसाद लेखकसहित विश्वविद्यालयका विभिन्न संकायका डिन र प्राध्यापकहरूको उपस्थिति थियो।

स्वागत मन्तव्य मदनसिंह देउपाले राख्नुभएको कार्यक्रममा सञ्चालन वीरबहादुर सिंहले गर्नुभएको थियो।
गोष्ठीमा प्रस्तुत कार्यपत्रहरूमा—
• साहित्यकार तथा संस्कृतिकर्मी जगदीश ओझा : लोकसाहित्य र संस्कृतिका सन्दर्भमा गौरापर्वका विशिष्टता
• साहित्यकार कविराज भट्ट : गौरापर्वका गीतहरूमा तत्कालीन समुदायको चित्रण
• मानसखण्ड अध्येता आचार्य घनश्याम लेखक : गौरापर्व र दुब्धागोको वैशिठ्य
• उप–प्राध्यापक पृतबहादुर बिष्ट : गौरापर्वका सामाजिक आयाम ४ वटा कार्यपत्र प्रस्तुत भएका थिए।

यी कार्यपत्रमाथि टिप्पणी गर्दै साहित्यकार मीना पन्त, भाषा–संस्कृतिविद् पञ्चमराज भट्ट, सह–प्राध्यापक श्यामसुन्दर ढकाल तथा भुवेश्वरी बडूले प्रस्तुत कार्यपत्रहरूमा गहन र खोजमूलक विषयवस्तु समेटिएको बताए कार्यक्रममा अतिथिबक्ता तथा टिप्पणीकारहरूले यस्ता कार्यक्रमहरूलाई थप परिमार्जन तथा बृद्धि गरी लोपोन्मुख लोकसाहित्य, नृत्य र परम्परासहितका पक्षमा विश्वविद्यालयलेअनुसन्धान गर्नुपर्ने सुझाव राखे।

उनीहरूले गौरा पर्व सम्बन्धित अध्ययन अनुसन्धानमा विद्यार्थीहरूको सक्रियता बढाउन पाठ्यक्रममै समावेश गर्नुपर्ने आवश्यकता औंल्याए। कार्यक्रममा असहाय महिला उत्थान तथा संस्कृति जगेर्ना केन्द्र , मैखोली परिवारका आमा समूह र सार्क स्कूल महेन्द्रनगरका छात्रा समूहले गौरा पर्वसँग सम्बन्धित फाग, अठेवाली र डेउडा गीतको विशेष प्रस्तुति गरेका थिए। प्रमुख अतिथि न्यायाधीश नित्यानन्द पाण्डेयले विश्वविद्यालयले गौरा पर्वजस्ता विशिष्ट सांस्कृतिक पर्वहरूको गहन अध्ययन अनुसन्धान गर्नुपर्ने र त्यसको संरक्षण तथा पुस्तान्तरणमा विशेष जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो।
कार्यक्रमको समापन बक्तब्यमा निर्देशक डा हरिश्चन्द्र भट्टले सबैमा धन्यवाद ब्यक्त गर्दै विश्वविद्यालय गर्न सकिनेगरि अध्ययन, संकलन , प्रकाशन एवम् कार्यक्रमहरूलाई क्रमस निरन्तरता दिदै जाने योजना रहेको बताएन । तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसका प्राध्यापक समेत रहेका प्रमुख अतिथि-सर्बोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयलाई विश्वविद्यालयका उपकुलपति प्रा डा हेमराज पन्तले सम्मान गर्दै मायाको चिनो समेत प्रदान गरेका थिए।
