
दोधारा । आज देशभर हरितालिका तीज पर्व हर्षोल्लासका साथ मनाइादै छ । हिन्दू नारीहरूले मनाउने यो विशेष पर्वमा भगवान शिवको पूजा आराधना गर्दै व्रत बस्ने चलन छ् । हरितालिका तीज लाई विवाहित महिलाहरुले आफ्नो पतिको दीर्घायु र सुख समृद्धिका लागि तथा अविवाहितहरुले असल जीवन साथी प्राप्तिको कामनाका साथ मनाउने गर्छन् । आजका दिन महिलाहरु रातो पहिरनमा सजिएर समूहमा भेला भएर तीज गीतमा नाचगान गर्दै पर्वको विशेषता झल्काउछन् । शिवालय मन्दिरहरुमा विशेष पूजा आराधना भईरहेको छ भने विभिन्न स्थानमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएका छन् ।


कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका सहित देशका अन्य शिव मन्दिरहरुमा पनि व्रतालुहरुको घुईचो लागेको छ् । दोधारा चाँदनी नगरपालिकाको् कमलशा बाबा मन्दिर लगाएत शिवालयहरुमा बिहानै देखि ठूलो संख्यामा भक्तजनहरु सहभागी भएका छन् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले शुभकामना सन्देश मार्फत नेपाली नारीहरुमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सदभाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्नुभएको छ् ।


दोधारा चाँदनी नगरपालिकाको आमभोज, सुन्दरनगर, बाबाथान, श्रेष्ठ चौराह लगाएत बिभिन्न स्थानमा महिलाहरु भेला भएर तिज मनाई रहेका छन् । उक्त स्थानमा महिलाहरु हरियो चुरा, रातो साडीमा सजिएर नृत्य गरेका छन् । दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमी सम्म मनाइन्छ ।


तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ् ।

तीज पर्वको अवसरमा सरकारले यो वर्ष पनि सार्वजनिक बिदा दिएको छ ।






