दोधारा । समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाअन्तर्गत नमूना विद्यालयको सूचक तथा श्रोत केन्द्रको चेकलिस्टसम्बन्धी तीन दिने तालिम सुरू भएको छ। युरोपियन युनियनको आर्थिक सहयोग तथा सेभ द चिल्ड्रेनसँगको साँझेदारीमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) द्वारा सञ्चालित समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाअन्तर्गत विभिन्न पालिकाहरूमा तीन दिने तालिम सुरू भएको हो।

समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाका प्रबन्धक विशन देव जोशीले जाजरकोट जिल्लाको भेरी नगरपालिका र छेडागाड नगरपालिका, कालिकोट जिल्लाको तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिका, त्यसैगरी कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकामा नमूना विद्यालयको सूचक तथा श्रोत केन्द्रको चेकलिस्टसम्बन्धी तीन दिने तालिम सुरू भएको बताउनुभयो। उहाँले नमूना विद्यालयका विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ, प्रधानाध्यापक तथा सीएसओका प्रतिनिधि लगायतको सहभागितामा तालिम सञ्चालन भईरहेको जानकारी दिनुभयो।

छुट्टाछुट्टै सञ्चालन भइरहेका तालिमहरूमा प्रत्येक पालिकाका तीन वटा नमुना विद्यालयका प्रतिनिधि सहित प्रति पालिका १५ जनाको सहभागिता रहेको छ। तालिममा समावेशी शिक्षा, अपाङ्गता र समावेशी शिक्षाको अवधारणा, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको अवधारणा, अपाङ्गता भएका व्यक्तिहरूका लागि कानुनी व्यवस्था साथै नमुना विद्यालयको सूचक तथा चेकलिष्ट लगायतका विषयमा सहजीकरण भईरहेको छ।

यस तीन दिने तालिमले सहभागी विद्यालय र समुदायलाई समावेशी र गुणस्तरीय शिक्षा प्रवर्द्धनमा मार्गदर्शक आधार दिने विश्वास लिइएको छ। नमूना विद्यालयको सूचक र श्रोत केन्द्रको चेकलिस्टमार्फत विद्यालयलाई अझ पारदर्शी, उत्तरदायी र समावेशी बनाउन सहयोग पुग्नेछ। यसरी विद्यालय, अभिभावक, समुदाय र सरोकारवालाबीचको सहकार्यले मात्र लिभिङ्ग नो वान विहेण्ड अर्थात् शिक्षाबाट कसैलाई पनि पछाडि नछोड्ने भन्ने लक्ष्य साकार हुनेछ।
